काठमाडौं । देशका विभिन्न भागमा आज रातिदेखि लगातार तीन दिनसम्म मध्यमदेखि भारी वर्षा हुने सम्भावना देखिएपछि मौसमविदहरूले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश भूभागमा मेघगर्जन, चट्याङसहित वर्षा हुने र केही स्थानमा भारी वर्षा हुनसक्ने जनाएको छ।
मौसमविदहरूका अनुसार अहिले सक्रिय बनेको प्रिमनसुन प्रणाली आज रातिदेखि थप बलियो हुने भएकाले पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, साना खोला–नालामा आकस्मिक बाढी तथा सहरी क्षेत्रमा डुबानको जोखिम उच्च रहनेछ। विशेषगरी काठमाडौं उपत्यका र वरपरका भूभाग, पूर्वी नेपालका अधिकांश जिल्ला तथा मध्य नेपालका पहाडी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ।
मौसमविद उज्वल उपाध्यायका अनुसार पूर्व र पश्चिमतर्फबाट आएका दुई छुट्टाछुट्टै वायुप्रणाली नेपालमाथि मिसिँदा बनेको संयुक्त प्रणालीले स्थानीय अस्थिरतासँग मिलेर केही स्थानमा एक–दुई घण्टामै अत्यधिक वर्षा गराउन सक्छ। “कुनै–कुनै क्षेत्रमा छोटो समयमै ठूलो पानी खस्न सक्छ, जसले तत्काल बाढी र पहिरोको अवस्था निम्त्याउन सक्छ,” उनले बताएका छन्।
वर्षाको प्रभावका कारण साना खोला–खोल्सामा अचानक बहाव बढ्ने, पहाडी सडकमा ढुंगा–माटो झर्ने तथा राजमार्ग अवरुद्ध हुन सक्ने भएकाले मौसमविदहरूले रातिको समयमा लामो दूरीको यात्रा नगर्न सुझाव दिएका छन्। विशेषगरी त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, पासाङल्हामु मार्ग र बीपी राजमार्गमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
काठमाडौं उपत्यकामा पनि आज साँझदेखि घना बादल लाग्ने, मेघगर्जनसहित ठूलो वर्षा हुने सम्भावना रहेको छ। बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते लगायत नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने र होचा स्थानमा क्षणिक डुबान हुनसक्ने विभागको पूर्वानुमान छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद सरोज पुडासैनीका अनुसार वैशाख १५ र १६ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षाको प्रभाव देखिनेछ। हिमाली भेगमा हिमपात वा पानी पर्ने सम्भावना रहेकाले उच्च भेगमा आवतजावत गर्नेहरूलाई पनि सावधानी अपनाउन भनिएको छ।
विभागले नदी किनार, पहिरोप्रवण क्षेत्र तथा कमजोर ढल निकास भएका सहरी बस्तीका बासिन्दालाई मौसमको अद्यावधिक जानकारी लिएर मात्रै बाहिरी गतिविधि गर्न आग्रह गरेको छ। चट्याङ परिरहेका बेला खुला स्थानमा नबस्न, खोला तर्न नखोज्न र रातिको समयमा अनावश्यक यात्रा नगर्न पनि चेतावनी दिइएको छ।
मौसमविदहरूका अनुसार यो प्रणाली बिहीबारसम्म सक्रिय रहने भएकाले सर्वसाधारणले थप सतर्कता अपनाउनु आवश्यक देखिएको छ।





