मकवानपुर, बकैया। कुनै समय थियो, जब बकैया गाउँपालिका–७ हात्तीखोलाका अभिभावकहरू आफ्ना बालबालिकालाई निजी विद्यालयमा पठाउनु त परको कुरा, विद्यालय शिक्षाको आवश्यकता बुझाउनसमेत गाह्रो मानिन्थ्यो। गाउँमा शैक्षिक चेतना न्यून थियो, आर्थिक अवस्था कमजोर थियो, र निजी विद्यालयप्रति अविश्वास गहिरो थियो। यिनै प्रतिकूलताबीच २०६७ साल बैशाख २ गते सुरु भएको भिजन एकेडेमी बोर्डिङ स्कुल आज त्यही भूगोलमा गुणस्तरीय शिक्षाको पर्याय बनेर उभिएको छ।
साबिक छतिवन–४ मा सामान्य संरचना, सीमित जनशक्ति र न्यून साधनस्रोतसहित सुरु भएको विद्यालयले प्रारम्भिक दिनमा अनेक अवरोध झेल्यो। विद्यार्थी भर्ना गराउनु चुनौती थियो, अभिभावकलाई शिक्षाको महत्त्व बुझाउनु झन् कठिन। विद्यालयकी प्रिन्सिपल विष्णुकुमारी चौलागाईं सम्झनुहुन्छ, “त्यो बेला घर–घर धाउनुपर्थ्यो। बच्चालाई अक्षर चिनाउने भन्दा पहिले अभिभावकलाई विद्यालयको मूल्य बुझाउनुपर्थ्यो।”
तर विद्यालयको लक्ष्य स्पष्ट थियो-गाउँमै गुणस्तरीय शिक्षा दिने। यही उद्देश्यलाई केन्द्रमा राखेर शिक्षकको निरन्तर मेहनत, व्यवस्थापनको धैर्यता र समुदायसँगको समन्वय अघि बढ्दै गयो। समयसँगै अभिभावकको सोच बदलियो, निजी शिक्षाप्रतिको अविश्वास विश्वासमा रूपान्तरण भयो र भिजन एकेडेमीको यात्रा स्थायित्वतर्फ मोडियो।
विद्यालयले सुरुवातमा तत्कालीन गाविसबाट प्रि–प्राइमरी तह सञ्चालनको अनुमति पाएको थियो। त्यसपछि शिक्षा शाखाबाट कक्षा १ र क्रमशः बकैया गाउँपालिकाबाट कक्षा २, ३, ४, ५ र ६ सञ्चालनको स्वीकृति लिँदै शैक्षिक दायरा फराकिलो बनाउँदै लग्यो।
आज यो विद्यालय एउटा भवन वा संस्था मात्र होइन, ग्रामीण अभिभावकको भरोसा, विद्यार्थीको भविष्य र समुदायको आशा बनेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद तिमल्सिनाको नेतृत्वमा संस्थाले शैक्षिक अनुशासनलाई मजबुत बनाउँदै आधुनिक सिकाइ वातावरण निर्माणमा जोड दिएको छ।
सुरुवाती चरणमा ५ जना शिक्षक-शिक्षिकाबाट चलेको विद्यालयमा अहिले १६ जना प्रशिक्षित शिक्षक-शिक्षिका कार्यरत छन्। शिक्षकहरूको नियमित तालिम, अनुभव आदानप्रदान र विद्यार्थीमैत्री शिक्षण पद्धतिले सिकाइलाई प्रभावकारी बनाएको छ। यही कारण हाल विद्यालयमा करिब २५० जना विद्यार्थी अध्ययनरत छन्। बकैया गाउँपालिकाका वडा नं. २, ४, ५ र ७ लगायत विभिन्न स्थानबाट विद्यार्थीहरू यहाँ अध्ययनका लागि आउने गरेका छन्। टाढाबाट आउने बालबालिकाको सहजताका लागि विद्यालयले बस सेवा समेत सञ्चालन गरेको छ।
भिजन एकेडेमीले आफूलाई केवल पाठ्यपुस्तकमा सीमित राखेको छैन। विद्यालयमा नियमित पढाइसँगै खेलकुद, सांस्कृतिक कार्यक्रम, हाजिरीजवाफ, वक्तृत्वकला, चित्रकला, नृत्य र संगीतजस्ता अतिरिक्त क्रियाकलाप सञ्चालन हुँदै आएका छन्। यसले विद्यार्थीको बौद्धिक विकाससँगै नेतृत्व क्षमता, आत्मविश्वास र सृजनशीलता अभिवृद्धि गरिरहेको छ।
ग्रामीण क्षेत्रमा निजी विद्यालय भनेपछि चर्को शुल्कको गुनासो आम हुन्छ। तर भिजन एकेडेमीले भने न्यून शुल्कमै गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ। यही कारण अभिभावकहरू विद्यालयप्रति सन्तुष्ट छन् र वर्षेनी आकर्षण बढ्दो छ।
विद्यालय प्रशासनका अनुसार संस्थाको मूल मन्त्र नै ‘गुणस्तरीय शिक्षा सबैको पहुँचमा’ हो। यही सिद्धान्तका कारण विद्यालयले कम स्रोत भएका परिवारका बालबालिकालाई पनि राम्रो शिक्षा दिलाउने वातावरण बनाएको छ।
१६ वर्षअघि अभाव, अन्योल र अविश्वासका बीच रोपिएको एउटा सानो बिरुवा आज बकैयाको शैक्षिक क्षेत्रमा फल्दै–फुल्दै छायाँ दिने वृक्ष बनेको छ। भिजन एकेडेमी बोर्डिङ स्कुलले प्रमाणित गरेको छ। दृढ इच्छाशक्ति, निरन्तरता र समर्पण भए ग्रामीण भेगमै पनि उत्कृष्ट शैक्षिक संस्था निर्माण गर्न सकिन्छ।
आज बकैया क्षेत्रमा गुणस्तरीय शिक्षाको कुरा हुँदा धेरै अभिभावकको पहिलो रोजाइ यही विद्यालय बन्नु संयोग होइन, संघर्षबाट निर्माण भएको विश्वासको परिणाम हो। भिजन एकेडेमीको यात्रा अहिले पनि जारी छ। अभावलाई अवसरमा, र गाउँलाई शिक्षाको उज्यालोमा रूपान्तरण गर्ने यात्राका रूपमा।





