गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले आजैदेखि लागू हुने गरी पद त्यागेको घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै गुरुङले आफूले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। पछिल्ला दिनमा आफ्नो शेयर लगानीसम्बन्धी विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उनले बताएका छन्।

उनले पदभन्दा नैतिकता ठूलो हुने र जनविश्वास सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै निष्पक्ष छानबिनका लागि आफूले मार्ग प्रशस्त गरेको जनाएका छन्। पदमा रहँदा स्वार्थको द्वन्द्व देखिन नदिन तथा छानबिन प्रक्रियालाई स्वतन्त्र बनाउन आफूले राजीनामा दिएको उनको भनाइ छ।

गुरुङले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको युवापुस्ताको आवाजले सार्वजनिक जीवन स्वच्छ, उत्तरदायी र विश्वासयोग्य हुनुपर्ने स्पष्ट सन्देश दिएको पनि बताएका छन्।

प्रकाशित मिति : २०८३ बैशाख ९ गते बुधवार