मकवानपुर गढी गाउँपालिका–साविक आमभञ्जाङ–८, सरमपुरमा सामान्य परिवारमा जन्मिएकी ३३ वर्षीया सरु कार्कीको जीवनकथा केवल संगीतको कथा होइन, निरन्तर संघर्ष, अटल आत्मविश्वास र आत्मनिर्भर बन्ने साहसको प्रेरणादायी यात्रा हो। अभावमै हुर्किएकी उनले बाल्यकालदेखि नै आर्थिक कठिनाइसँग जुध्दै आफ्नो सपना जोगाइराखिन्। घरको कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई निरन्तरता दिनु नै चुनौतीपूर्ण थियो, तर परिस्थितिले उनलाई झुकाउन सकेन।

१२ वर्षकै उमेरदेखि गीत गाउन सुरु गरेकी सरु विद्यालयस्तरीय सांस्कृतिक कार्यक्रममा सधैं उत्कृष्ट स्थान हासिल गर्थिन्। हरेक पुरस्कारले उनलाई खुसी मात्र होइन, अझ मेहनत गर्ने ऊर्जा दिन्थ्यो। पढाइ र घरायसी जिम्मेवारी सँगसँगै उनले संगीत अभ्यासलाई निरन्तरता दिइन्। कतिपय दिन विद्यालयपछि घरको काम सकेर राति अबेरसम्म अभ्यास गर्नु उनको दैनिकी नै बन्यो। अभावले थिचे पनि उनको आत्मबल कहिल्यै कमजोर भएन।

वि.सं. २०७९ सालमा उनले ‘रेसम डोरा’ बोलको गीत सार्वजनिक गरिन्। ठूलो लगानी, पहुँच वा प्राविधिक सुविधा बिना आफ्नै प्रयास र सीमित स्रोतसाधनका साथ तयार गरिएको उक्त गीतले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पायो। त्यसले उनको आत्मविश्वासलाई थप मजबुत बनायो। त्यसपछि उनले ‘घरझगडा’ र ‘बाध्यता’ जस्ता गीत बजारमा ल्याइसकेकी छन्। यी गीतहरूमा उनले सामाजिक यथार्थ, पारिवारिक तनाव र महिलाले भोग्ने पीडालाई सशक्त स्वर दिएकी छन्।
तर यो यात्रा सहज थिएन। सुरुवाती दिनमा कार्यक्रममा बोलाएर पारिश्रमिक नदिने, “स्थानीय कलाकार” भन्दै हेप्ने, समयमै स्टेज नदिने, आफ्नै खर्चमा कार्यक्रममा सहभागी हुँदा पनि उचित सम्मान नपाउने जस्ता अनुभव उनले पटक–पटक भोगिन्। “गाएर के हुन्छ र?” भन्ने निरुत्साहजनक टिप्पणी र पारिवारिक असमझदारीले थप दबाब सिर्जना गर्यो। आर्थिक अभावले झन् चुनौती थप्यो। तर उनले हार मानिनन्। प्रत्येक अपमान र कठिनाइलाई उनले सफलताको आधार बनाइन्।
कलाकारितासँगै जीवनलाई आर्थिक रूपमा सबल बनाउन उनले एक वर्षअघि अचार व्यवसाय सुरु गरिन्। फुर्सदको समय सदुपयोग गर्ने उद्देश्यले घरमै सुरु गरिएको व्यवसायले अहिले मासिक करिब १५ हजार रुपैयाँसम्म आम्दानी दिन थालेको छ। सिजनअनुसार मुला, कागती, काक्रो, चिकेन र लप्सीको अचार उत्पादन गर्दै आएकी उनी माग बढ्दै जाँदा उत्पादन विस्तारको योजनामा छिन्। सीमित स्रोतका कारण सबै अर्डर पूरा गर्न नसकेको उनले बताइन्।
विदेश जाने सोच त्यागेर स्वदेशमै केही गर्ने दृढ अठोटका साथ अघि बढेकी सरु कार्कीले कलाकारिता र उद्यमशीलतालाई सँगसँगै अघि बढाएकी छन्। अभाव, अपमान र संघर्षका अनेक चरण पार गर्दै आज उनी आत्मनिर्भर बन्न सफल भएकी छन्।
उनको कथा एउटा स्पष्ट सन्देश दिन्छ—सपना साँचो र लक्ष्य स्पष्ट भए परिस्थिति जति कठिन भए पनि सफलता सम्भव हुन्छ। सरु कार्की आज केवल एक लोकदोहोरी गायिका मात्र होइनन्, संघर्षलाई शक्तिमा रूपान्तरण गर्ने सशक्त र प्रेरणादायी उदाहरण हुन्।





