मकवानपुर — नेपालको आर्थिक विकासको मूल आधार कृषि क्षेत्र नै हो। परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधि, सीप र वैकल्पिक व्यवसायसँग जोड्न सकिए किसानको जीवनस्तरमा उल्लेखनीय सुधार सम्भव छ। यही उदाहरण प्रस्तुत गरेका छन् बकैया गाउँपालिका–४, जुरेली तुलसीपुरका कृषक नारायण घिमिरेले। उनले तरकारी खेतीसँगै मौरीपालन व्यवसाय सञ्चालन गर्दै आत्मनिर्भर बन्ने सफल प्रयास गरेका छन्।

हाल घिमिरेले फर्सी, लसुन, आलु, काउली, बन्दा लगायतका तरकारी व्यावसायिक रूपमा खेती गरिरहेका छन्। यससँगै उनले १८ वटा मौरीका घारमार्फत मौरीपालन पनि गर्दै आएका छन्। कृषिकर्ममा निरन्तर सक्रिय रहे पनि उनले वडा तथा पालिकाबाट औपचारिक सम्मान भने पाएका छैनन्। तथापि, बकैया गाउँपालिकाले १५ वटा मौरी घारमा ६० प्रतिशत अनुदान उपलब्ध गराएको छ। साथै महमादन र मह काट्ने उपकरणसमेत पालिकाबाट सहयोगस्वरूप प्राप्त भएको उनले जानकारी दिए।
घिमिरेका अनुसार मौरीपालनबाट एक घारबाट वार्षिक करिब ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। त्यस्तै तरकारी खेतीबाट वार्षिक झण्डै १ लाख ५० हजार रुपैयाँ आम्दानी भइरहेको छ। सानो लगानी र परिवारको श्रमबाट समेत राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ।

तरकारी खेती र मौरीपालन एक–अर्काका पूरक व्यवसाय हुन्। मौरीले परागसेचनमा सहयोग गर्ने भएकाले तरकारी तथा फूलखेतीको उत्पादन वृद्धि हुन्छ। यसले किसानलाई दोहोरो लाभ दिने मात्र होइन, कृषि प्रणालीलाई दिगो र उत्पादनमुखी बनाउन पनि मद्दत पुर्याउँछ।
घिमिरे विगत तीन वर्षदेखि व्यावसायिक मौरीपालनमा सक्रिय छन्। सिजनअनुसार तरकारी तथा फूलखेतीसँगै मौरीपालन गर्दै आएका उनी बजार राम्रो पाएकोमा उत्साहित छन्। उनले दम्पती मिलेर जिल्लाका विभिन्न स्थानमा तोरी फुलेका बेला मौरी चरनका लागि लैजाने गर्छन्। चरन गरिएको स्थानमै मेसिन प्रयोग गरेर मह निकाल्ने गरिएको छ। जाडो याममा मौसम परिवर्तन हुँदा मह काढ्न कठिन हुने उनको अनुभव छ। सफा र घाम लागेको मौसममा मात्र मह काढ्न उपयुक्त हुने र चिसो मौसममा मह काढ्दा मौरी आक्रोशित हुने भएकाले काम गर्न समस्या हुने उनले बताए।
परिवारको श्रम र स्थानीय स्रोतको उपयोगबाट सञ्चालन हुने यस्ता व्यवसायले ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने मात्र होइन, वैदेशिक रोजगारीप्रति निर्भरता घटाएर गाउँमै रोजगारी सिर्जना गर्न पनि सहयोग पुर्याउँछ। त्यसैले यस्ता नमुना कार्यलाई राज्यले प्राथमिकताका साथ प्रोत्साहन गर्नुपर्ने देखिन्छ।

स्थानीय सरकारले कृषि तथा मौरीपालन क्षेत्रमा केही सहयोग कार्यक्रम सञ्चालन गरिरहेको भए पनि उत्पादनको बजार व्यवस्थापन, प्राविधिक तालिम, बीमा सुविधा र दीर्घकालीन कृषि नीति निर्माणमा अझ सक्रियता आवश्यक रहेको कृषकहरू बताउँछन्। योजनाबद्ध रूपमा कृषि विकास कार्यक्रम कार्यान्वयन गर्न सकिए किसानको उत्साह र उत्पादन दुवै बढ्ने अपेक्षा गरिएको छ।
सफल कृषकलाई सम्मान र प्रोत्साहन गर्ने संस्कार विकास गर्नु पनि उत्तिकै महत्वपूर्ण छ। यसले अन्य किसानलाई प्रेरणा दिनुका साथै युवापुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्न मद्दत गर्छ। कृषि पेशालाई सम्मानजनक र आधुनिक व्यवसायका रूपमा स्थापित गर्न सरकार, सहकारी संस्था र समुदायबीच सहकार्य अपरिहार्य देखिन्छ।
नेपालको ग्रामीण विकासको मेरुदण्ड कृषि नै भएकाले उत्पादनमुखी र वातावरणमैत्री अभ्यासलाई प्रोत्साहन गर्नु आजको आवश्यकता हो। तरकारी खेती र मौरीपालनको संयोजनले आयआर्जन वृद्धि, जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुर्याउँछ। यस्ता उदाहरणीय प्रयासलाई नीति, कार्यक्रम र सामाजिक सम्मानमार्फत थप सशक्त बनाउनु समयको माग बनेको छ।





