काठमाडौं । नेपाल वन अधिकृत संघ (Nepal Foresters’ Association) को आयोजनामा वन तथा वातावरणसम्बन्धी विषयमा केन्द्रित नीति संवाद कार्यक्रम आज काठमाडौंको बबरमहलस्थित संघको सभाहलमा सम्पन्न भएको छ।
आगामी आम निर्वाचनको सन्दर्भमा आयोजना गरिएको उक्त संवाद कार्यक्रमले राजनीतिक दल तथा भावी जनप्रतिनिधिहरूलाई आफ्ना निर्वाचन घोषणापत्रमा समेट्न सकिने सुदृढ नीति सुझाव तयार गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
माघ १५, २०८२ (बिहीबार) दिउँसो २ बजेबाट सुरु भएको कार्यक्रममा वन क्षेत्रका विज्ञ, पेशागत व्यक्तित्व तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालको वन तथा वातावरणीय शासन प्रणालीभित्रका नीति प्राथमिकता, विद्यमान चुनौती तथा सम्भावनाबारे गहन छलफल गरिएको थियो।
संवादमा राजनीतिक प्रतिबद्धता, प्राविधिक ज्ञान, क्षेत्रीय यथार्थ तथा दीर्घकालीन दिगोपनाबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो। सहभागीहरूले नीतिगत प्रतिबद्धतालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न वन विज्ञ तथा प्राविधिकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
त्यसैगरी, वन तथा वातावरणसम्बन्धी नीतिहरू तथ्यमा आधारित, समावेशी र जलवायु परिवर्तन, जैविक विविधता संरक्षण तथा समुदायको जीविकोपार्जनप्रति उत्तरदायी हुनुपर्नेमा सहभागीहरूको साझा धारणा रहेको थियो।
कार्यक्रमले निर्वाचनका बेला वन तथा वातावरणीय विषयलाई राष्ट्रिय राजनीतिक एजेन्डामा प्रभावकारी रूपमा समेट्ने विषयमा विचार आदान–प्रदान गर्ने उपयोगी मञ्चको काम गरेको सहभागी वक्ताहरूले बताएका छन्। यस्ता नीति संवादहरूले नीति निर्माण तथा राजनीतिक बहसमा वातावरणीय सरोकारलाई पर्याप्त स्थान दिन सहयोग पुग्ने उनीहरूको भनाइ थियो।
वन विज्ञ, नीति निर्माता तथा राजनीतिक पात्रहरूबीच निरन्तर सहकार्य आवश्यक रहेको निष्कर्षसहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएका छन्।





