नर्थ समिट हाइड्रोको १०औँ वार्षिक साधारणसभा सम्पन्न, २१.४ मेगावाटको न्यादी–फिदी जलविद्युत् आयोजना निर्माण तीव्र गतिमा



काठमाडौं, जेठ १७ । नर्थ समिट हाइड्रो लिमिटेडको १०औँ वार्षिक साधारणसभा (एजीएम) सम्पन्न भएको छ। सभामा कम्पनीका वित्तीय, प्राविधिक तथा रणनीतिक गतिविधिबारे समीक्षा गर्दै विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरिएको छ।

कम्पनीका अध्यक्ष विवेक टाटेरको अध्यक्षतामा सम्पन्न सभामा प्रबन्ध निर्देशक बलेन्द्र क्षेत्रीले लमजुङ जिल्लामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादी–फिदी जलविद्युत् आयोजनाको प्रगति विवरण प्रस्तुत गरेका थिए।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन, लेखापरीक्षक नियुक्ति, पुँजी संरचनासम्बन्धी विषय, लगानी निर्णय, बैंक तथा वित्तीय संस्थासँग भएका सम्झौतामा संशोधन तथा शेयरधनी अभिलेख अद्यावधिकलगायतका एजेन्डा अनुमोदन गरेको कम्पनीले जनाएको छ।

सभामा कम्पनीले ४ मेगावाट क्षमताको मिडिल न्यादी जलविद्युत् आयोजनामा शेयर खरिद गर्ने योजना तथा न्यादी–फिदी क्यास्केड आयोजनाको विकास अवस्थाबारे समेत छलफल गरेको थियो।
गण्डकी प्रदेशको लमजुङमा निर्माणाधीन न्यादी–फिदी जलविद्युत् आयोजना रन–अफ–रिभर (नदी प्रवाहमा आधारित) प्रकृतिको आयोजना हो। आयोजनाले उत्पादन अनुमतिपत्र, विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) तथा राष्ट्रिय प्रसारण लाइनमा जडानसम्बन्धी आवश्यक स्वीकृतिहरू प्राप्त गरिसकेको छ।

हाल आयोजनाअन्तर्गत इन्टेक संरचना, डिस्यान्डर निर्माण, हेडरेस सुरुङ खन्ने कार्य, पेनस्टक जडान तथा हाइड्रोमेकानिकल संरचनाको निर्माण कार्य विभिन्न चरणमा अघि बढिरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आयोजनाबाट वार्षिक करिब १२९.१४ गिगावाट–घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। जलाशययुक्त आयोजनाको तुलनामा वातावरणीय प्रभाव न्यून हुने भएकाले यो आयोजना स्वच्छ तथा दिगो ऊर्जाको महत्वपूर्ण स्रोत बन्ने अपेक्षा गरिएको छ।

प्रबन्ध निर्देशक क्षेत्रीले आयोजनाको निर्माण कार्य निर्धारित समयसीमाभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै वातावरणीय उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखिएको बताए।
साधारणसभाको अन्त्यमा कम्पनीको भावी लगानी योजना, सुशासन प्रवर्द्धन तथा नेपालको जलविद्युत् क्षेत्र र स्वच्छ ऊर्जा रूपान्तरणमा कम्पनीको भूमिका थप सुदृढ बनाउने रणनीतिबारे छलफल गरिएको थियो।

प्रकाशित मिति : २०८३ जेष्ठ १७ गते आइतवार