इन्द्रेणी मशरूम फार्मको ११औँ AGM सम्पन्न, आगामी विस्तार योजनामा जोड



काठमाडौं ।
इन्द्रेणी मशरूम फार्म लिमिटेडले आफ्नो ११औँ वार्षिक साधारण सभा (AGM) काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ। सञ्चालक समितिका अध्यक्षको अध्यक्षतामा सम्पन्न उक्त सभामा सेयरधनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सभाले आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदन, लेखापरीक्षित वित्तीय विवरण, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू विस्तृत छलफलपछि सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरिएको छ।

सभाका क्रममा कम्पनीले हालसम्म हासिल गरेको व्यावसायिक प्रगति, च्याउ उत्पादनको अवस्था, बजार विस्तारको रणनीति तथा भावी कार्ययोजनाबारे सेयरधनीलाई जानकारी गराएको थियो। स्वदेशमै गुणस्तरीय व्यावसायिक च्याउ उत्पादन गर्दै आएको कम्पनीले उत्पादनस्तर सुधार गर्दै बजार पहुँच थप विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
सेयरधनीहरूले कम्पनीको व्यवस्थापन प्रणाली, पारदर्शिता र दीर्घकालीन व्यवसायिक योजनाप्रति सकारात्मक धारणा व्यक्त गर्दै आगामी दिनमा कम्पनी अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए।

११औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएसँगै इन्द्रेणी मशरूम फार्म लिमिटेडले आधुनिक कृषि प्रविधि, उत्पादन क्षमता अभिवृद्धि र दिगो व्यवसायिक अभ्यासमार्फत सेयरधनीलाई दीर्घकालीन प्रतिफल प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

प्रकाशित मिति : २०८२ माघ १ गते बुधवार