हिमनदी पग्लिँदै जाँदा अर्बौं मानिसको पानी, खाद्य र जीविकोपार्जन जोखिममा : एफएओ



काठमाडौं । विश्वका “लुकेका पानी भण्डार” का रूपमा चिनिने हिमनदीहरू तीव्र गतिमा संकुचित हुँदै गइरहेका छन्, जसका कारण अर्बौं मानिसको पानी, खाद्य सुरक्षा र जीविकोपार्जन गम्भीर जोखिममा परेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले चेतावनी दिएको छ।
एफएओका महानिर्देशक छ्यू डोङयुले हिमनदी तथा मौसमी हिउँ पग्लिँदा इन्डस, गङ्गा, नाइल र कोलोराडो जस्ता विश्वका प्रमुख नदी प्रणालीहरूमा पानी आपूर्ति हुने उल्लेख गरे। यी नदीहरूले करिब दुई अर्ब मानिसलाई खानेपानी उपलब्ध गराउनुका साथै विशाल कृषि क्षेत्र सिँचाइ र जलविद्युत् उत्पादनलाई समेत समर्थन गर्दै आएका छन्। तर, जलवायु परिवर्तनका कारण भइरहेको तीव्र हिमनदी पग्लिने प्रक्रियाले यी जीवनदायी प्रणालीहरू गम्भीर रूपमा प्रभावित बनाइरहेको छ।
छोटो अवधिमा हिमनदी तीव्र रूपमा पग्लिँदा आकस्मिक बाढी, हिमनदी ताल विस्फोट (GLOF), पहिरो तथा हिमपहिरोको जोखिम बढिरहेको छ। दीर्घकालमा भने हिमनदी पूर्ण रूपमा हराएपछि पानीको उपलब्धता स्थायी रूपमा घट्ने र पहाडी क्षेत्र मात्र होइन, तल्लो भू–भागका विश्वकै ‘खाद्य भण्डार’ मानिने क्षेत्रहरूको कृषि प्रणाली नै कमजोर हुने खतरा रहेको एफएओले जनाएको छ।

पृथ्वीको कुल भू–भागको एक चौथाइभन्दा बढी क्षेत्र पहाडहरूले ओगटेका छन् र करिब १.२ अर्ब मानिस पहाडी क्षेत्रमा बसोबास गर्छन्। वैज्ञानिक अध्ययनअनुसार पहाडी क्षेत्रहरू विश्व औसतभन्दा छिटो तातिरहेका छन्, जसले मौसमी पानी आपूर्ति घटाउँदै लगेको छ। वैकल्पिक पानी स्रोत सीमित भएकाले धेरै पहाडी समुदायमा कृषि उत्पादन घट्नुका साथै गरिबी बढ्ने र जलवायुजन्य विस्थापनको जोखिम तीव्र हुँदै गएको छ।
तथ्याङ्कअनुसार पछिल्ला छ वर्षमध्ये पाँच वर्षमा अहिलेसम्मकै तीव्र हिमनदी संकुचन रेकर्ड भएको छ। यसको असर एन्डिजदेखि हिमालयसम्म देखिन थालेको छ। पेरुमा हिमनदी घट्दा बाली उत्पादनमा कमी आएको छ भने पाकिस्तानमा हिउँ पग्लिने पानी घट्दा परम्परागत खेती चक्र नै प्रभावित भएको छ। विज्ञहरूले धेरै हिमनदी प्रणालीहरू ‘पिक वाटर’ अर्थात् अधिकतम पग्लिने बिन्दु पार गरिसकेको वा नजिक पुगेको चेतावनी दिएका छन्, जसपछि आउने दशकहरूमा पानीको बहाव अपरिवर्तनीय रूपमा घट्नेछ।

भौतिक असर मात्र होइन, हिमनदी हराउँदा सांस्कृतिक र आध्यात्मिक सम्पदामा समेत गहिरो प्रभाव परेको एफएओले जनाएको छ। एसिया, अफ्रिका, ल्याटिन अमेरिका र प्रशान्त क्षेत्रका आदिवासी तथा पहाडी समुदायका लागि हिमनदी धार्मिक र सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण छन्। तिनको लोपसँगै पहिचान, परम्परा र पहाडसँगको शताब्दीयौँ पुरानो सम्बन्ध नै संकटमा पर्ने खतरा छ।

यस संकटको गम्भीरतालाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई ‘हिमनदी संरक्षणको अन्तर्राष्ट्रिय वर्ष’ घोषणा गरेको छ। यस पहलमा एफएओ, युनेस्को र विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) अग्रणी भूमिकामा छन्। यसको उद्देश्य हिमनदीमा आधारित पानी प्रणाली जोगाउन विश्वव्यापी ध्यान र समन्वित प्रयास बढाउनु हो।
एफएओले हिमनदी संरक्षणका लागि नीति, लगानी र शासन प्रणालीमा साहसी परिवर्तन आवश्यक रहेको जनाएको छ। हरितगृह ग्यास उत्सर्जन घटाउने, पानी व्यवस्थापन सुधार गर्ने, प्रारम्भिक चेतावनी प्रणाली सुदृढ गर्ने तथा जलवायु–अनुकूल र दिगो कृषि–खाद्य प्रणाली प्रवर्द्धन गर्नु प्रमुख प्राथमिकतामा राखिएको छ। ठूलो पानी उपभोक्ता क्षेत्र भएको कृषि, सही व्यवस्थापन भए समाधानको प्रमुख हिस्सा बन्न सक्ने एफएओको भनाइ छ।

पहाडी समुदायले परम्परागत रूपमा अपनाउँदै आएका टेरेस खेती, एग्रोइकोलोजी, एग्रोफरेष्ट्री तथा बाली विविधीकरणलाई प्रभावकारी अनुकूलन उपायका रूपमा अघि सारिएको छ। साथै, आदिवासी ज्ञानको समावेश, गरिबी र लैङ्गिक असमानताजस्ता मूल समस्याको समाधान बिना अनुकूलन प्रयास सफल नहुने एफएओले स्पष्ट पारेको छ।

विश्वका विभिन्न भागमा नवीन अभ्यासहरू समेत सुरु भइसकेका छन्। किर्गिस्तानमा एफएओ सहयोगमा १५ लाख घनमिटरभन्दा बढी बरफ सञ्चित हुने कृत्रिम हिमनदी निर्माण गरिएको छ, जसले खेत सिँचाइमा सहयोग पुर्‍याइरहेको छ। भारतको लद्दाखमा जाडोयामको प्रयोग नभएको पानी संकलन गरी वसन्त खेतीका लागि प्रयोग गर्न स्वचालित बरफ भण्डारण प्रणाली विकास गरिएको छ। पेरुको एन्डिज क्षेत्रमा भने हिमनदी घट्दा बिग्रिएको पानीको गुणस्तर सुधार गर्न स्थानीय बोटबिरुवामार्फत प्राकृतिक फिल्ट्रेसन प्रणाली अपनाइएको छ।

यस्ता सकारात्मक उदाहरण हुँदाहुँदै पनि विश्वव्यापी प्रयास अझै खण्डित र अपर्याप्त रहेको एफएओको निष्कर्ष छ। पानी तथा कृषि पूर्वाधारमा थप लगानी, हिमनदी–आधारित नदी बेसिनमा अन्तरदेशीय सहकार्य, हिमनदी अनुगमन सुदृढीकरण र राष्ट्रिय जलवायु नीतिहरूबीच समन्वय अत्यावश्यक रहेको चेतावनी दिइएको छ।

“हिमनदी महत्वपूर्ण छन्, किनकि पानी महत्वपूर्ण छ,” एफएओका महानिर्देशक छ्यू डोङयुले जोड दिएका छन्। हिमनदीको तीव्र संकुचनलाई बेवास्ता गर्नु विश्व खाद्य सुरक्षा, पानी उपलब्धता र दीर्घकालीन स्थायित्वसँग प्रत्यक्ष जुवा खेल्नु सरह हुने उनको चेतावनी छ।

प्रकाशित मिति : २०८२ माघ २२ गते बुधवार