विद्यार्थी नेताहरूलाई जनार्दनले दिए ‘रात्रिभोज’



नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित आफूनिकट विद्यार्थी नेताहरूलाई रात्रिभोज दिएका छन् । संस्थापक इतर समूहको नेतृत्व गर्दैआएका उनले क्रान्तिकारीको निर्वाचनमा आफ्नो समूहबाट निर्वाचित र पराजित उम्मेदवारहरूलाई बोलाएर रात्रिभोज दिएका हुन्।

उपमहासचिव शर्मा र पूर्वमन्त्री सुदन किराँतीद्वारा शुक्रबार साँझ कलंकीस्थित ‘मेगा ब्यांक्वेट’मा आयोजित रात्रिभोज समारोहमा क्रान्तिकारीका २२ पदाधिकारीसहित झण्डै ७० प्रतिशत नेता–कार्यकर्ताहरू सहभागी थिए। विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलनमा ‘हेडक्वाटर’ भनेर चर्चा गरिएका ‘प्रचण्ड—शक्ति’ले तयार पारेको प्यानलविरुद्ध समानान्तर ‘प्यानल’ खडा गरेर चुनावमा सानदार नतिजा हात पारेपछि शर्मानिकट नेता—कार्यकर्ताहरू उत्साहित छन्।

आफ्नो समूहका धेरैजसो उम्मेदवारहरू निर्वाचित भएपछि शर्माले आयोजना गरेको रात्रिभोजले यतिबेला माओवादीभित्र चर्चा पाइरहेको छ।

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार