कांग्रेसलाई प्रचण्डको प्रश्न – ओलीले राष्ट्रपतिमा माधव नेपाललाई अघि सारे के गर्ने ?



काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रलाई राष्ट्रपतिमा सहयोग गर्न औपचारिकरुपमै आग्रह गरेको छ । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेर सभापति शेरबहादुर देउवाले बालुवाटारमा पुगेर यस्तो प्रस्ताव राखेका हुन् ।

देउवाले कांग्रेस पदाधिकारीलाई लिएर बालुवाटार गएका थिए । बैठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार माओवादीले बैठक राखेर निर्णय गरेपछि फेरि छलफल गर्ने बचन दिएको छ ।

कांग्रेस नेताहरुले पुस १० गतेको घटनालाई बिर्सेर अघि बढ्न आग्रह गरेका थिए । ‘हामीबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो,’ कांग्रेसका एक नेताले भने, ‘हिजो मिलेर चुनाव लडेका हौँ । भोलि पनि मिलेरै जानुपर्छ भन्ने कुरा भयो । प्रचण्डले पनि ओलीसँग भन्दा कांग्रेससँग सहज हुन्छ भन्ने कुरा गर्नुभयो । सकेसम्म पुरानै गठबन्धन ब्युँताउने कुरा भएको छ ।’

भेटमा सहभागी एक नेताले भने, ‘मैले नै हिजो मिलेर चुनाव पनि लड्यौं । सरकार पनि हिजो गठबन्धनमा चलायौं । त्यसपछि चुनाव पनि मिलेर लड्यौं । ओलीजीसँग भन्दा हामीसँग गठबन्धनमा सहज हुन्छ भनेर आएका छौं,’ कांग्रेसका ती नेताले थपे, ‘प्रचण्डलाई हिजो बीचमा सहकार्य बिग्रिएको हो । थोरै असमझदारीका कारण बिग्रियो । तर, हामीले विश्वासको मत दिएका छौं । राष्ट्रपतिमा हामीलाई सहयोग गर्नुहोस्, पुस १० गतेको घटनालाई बिर्सिनुहोस् भनेर आयौं ।’

बैठकमा प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई अघि सारेमा के गर्ने भन्ने प्रश्न राखेका थिए । यो विषयमा कांग्रेसको आन्तरिक छलफलमा पनि कुराकानी भएको एक नेताले जानकारी दिए । उनका अनुसार प्रचण्डको भन्दा पनि माधव नेपालको चाहना बढी देखिएको छ ।

‘माधव नेपालले नै म राष्ट्रपति बन्छु भनेर प्रचण्डसँग भनेको पायौँ, प्रचण्डले त कांग्रेसकै उमेदवारलाई सहयोग गर्छु भन्नुभएको छ,’ उनले भने । भेटमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार माओवादीले आफ्नो बैठकले औपचारिक निर्णय गर्ने जानकारी गराएको छ ।

उनका अनुसार माओवादीको निर्णयपछि फेरि दुई पार्टीका नेताहरुबीचमा छलफल हुनेछ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार