साउदी अरबमा ‘ट्विट’ गरेको आरोपमा अमेरिकी नागरिकलाई १६ वर्षको जेल सजाय



साउदी अरबको एक अदालतले अमेरिकी नागरिक साद इब्राहिम अल मादीलाई ट्वीट गरेको आरोपमा १६ वर्षको जेल सजाय सुनाएको छ । इब्राहिमका छोराले यसबारे बीबीसी अरबीलाई जानकारी दिएका छन् । अमेरिकी र साउदी अरबको दोहोरो नागरिकता धारण गरेका अल मादी गत वर्ष नोभेम्बरमा फ्लोरिडाबाट आफ्नो परिवारलाई भेट्न रियाद पुगेका थिए ।

अल–मादीका छोराले पहिलो पटक यसबारे मिडियासँग कुरा गरेका छन्, जबकि अमेरिकाले उनलाई त्यसो नगर्न सल्लाह दिएको थियो ।अल–मादीका छोरा इब्राहिमले उनी आफ्नो बुबा जेलमा मरेको हेर्न नचाहेको बताए । इब्राहिमले आफ्नो बुबालाई पक्राउ गरेदेखि नै साउदी अधिकारीहरूले यातना दिइरहेको दाबी गरेका छन् ।

साउदीको एक अदालतले अल–मादीलाई देश अस्थिर पार्ने प्रयास गरेको र आतंकवादलाई सहयोग गरेको अभियोगमा दोषी ठहर गरेको छ । इब्राहिमका अनुसार यी आरोपहरू प्रमाणित गर्ने प्रमाणका रूपमा अदालतमा १४ वटा ट्वीट मात्रै पेश गरिएको थियो ।

बीबीसीले यी ट्वीटहरू हेरेको छ । यी ट्वीट जेद्दा र मक्कामा पुुरानो संरचना भत्काएको, गरिबीमाथि चिन्ता व्यक्त गरेको र साउदी पत्रकार जमाल खग्गोसीको हत्यासँग सम्बन्धित थिए ।

अभियोजकहरूले अल–मादीलाई ४२ वर्षको जेल सजायको माग गरेका थिए।पक्राउ परेदेखि इब्राहिमले बुबासँग कुरा गर्न पाएका छैनन् । तर, परिवारका अन्य सदस्यले उनका पितालाई भेटेका छन् र उनी ठिकै भएको जानकारी दिएका छन् । तर इब्राहिमले आफूलाई यसमा शंका भएको बताएका छन् ।

इब्राहिमले आफ्नो बुबाको मुद्दामा अमेरिकाको चासो नदेखाएको पनि आलोचना गरे । उनले भने कि अमेरिकी अधिकारीहरूले आफ्ना बुबालाई दुई पटक मात्र भेटेका थिए । जेल गएको ६ महिनापछि पहिलो पटक कुनै अमेरिकी अधिकारीले उनलाई भेटेका थिए । इब्राहिमले यो मामिलामा ह्वाइट हाउससँग सम्पर्क हुन नसकेको पनि बताए ।

जुलाईमा अमेरिकी राष्ट्रपति रियादको भ्रमणमा रहेका बेला उनले आफ्नो बुबाको केसबारे बीबीसीलाई बताएका थिए ।

बीबीसीसँग कुरा गर्दै उनले अमेरिकाको दोहोरो मनोवृत्तिमाथि प्रश्न उठाए । उनी भन्छन्, ‘यदि रुस वा इरानमा कुनै नागरिकलाई हिरासतमा लिएको भए अमेरिकाले कारवाही गरिसकेको हुन्थ्यो तर यदि तपाईंलाई साउदी अरबमा जेलको सजाय भएको छ भने यहाँ तपाईंको मूल्य भन्दा तेलको एउटा ब्यारल महँगो छ ।’

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार