काठमाडौं । सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (SONA) को सामाजिक उत्तरदायित्व समिति (SCSR) को आयोजनामा परम्परागत भवनको संरक्षण तथा पुनःप्रयोगसम्बन्धी ‘६६औँ आर्किटेक्ट स्पिक्स’ कार्यक्रम सम्पन्न भएको छ।
‘Adaptive Reuse of Traditional Buildings’ विषयमा केन्द्रित कार्यक्रम शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्ट्समा सम्पन्न भएको हो। कार्यक्रममा परम्परागत तथा ऐतिहासिक भवनलाई मौलिकता जोगाउँदै समसामयिक आवश्यकता र नयाँ प्रयोजनअनुसार पुनःप्रयोग गर्ने विषयमा वास्तुविद्हरूबीच छलफल गरिएको थियो।
कार्यक्रममा रेस्टोरेसन आर्किटेक्ट तथा शिक्षाविद् आर्किटेक्ट झरना जोशी र वरुण राणा डिजाइन स्टुडियोका संस्थापक तथा प्रिन्सिपल आर्किटेक्ट वरुण एसजेबी राणाले परम्परागत भवनको संरक्षण, पुनःस्थापना तथा अनुकूल पुनःप्रयोगका सम्भावनाबारे आफ्ना अनुभव र विचार प्रस्तुत गरेका थिए। आर्किटेक्ट सृष्टि महर्जनले कार्यक्रमको सहजीकरण गरेकी थिइन्।
छलफलमा पुराना भवनलाई केवल संरक्षण गरेर राख्नेभन्दा तिनको वास्तुकला, सांस्कृतिक पहिचान र मौलिकता कायम राख्दै आधुनिक आवश्यकता पूरा हुने गरी उपयोगमा ल्याउनुपर्ने विषयमा जोड दिइएको थियो। यस्तो अभ्यासले सम्पदा संरक्षणसँगै पुराना भवनलाई दिगो रूपमा प्रयोगमा ल्याउन सहयोग गर्ने बताइएको थियो।
SONA ले वास्तुकला तथा त्यससँग सम्बन्धित कला, विज्ञान र प्रविधिको विकास तथा वास्तुविद्हरूबीच व्यावसायिक सहकार्य र ज्ञान आदान–प्रदानलाई प्रवर्द्धन गर्दै आएको छ। संस्थाले ‘Architect Speaks’ जस्ता कार्यक्रममार्फत वास्तुकला, सम्पदा संरक्षण र समसामयिक निर्माणका विषयमा निरन्तर संवाद गर्दै आएको छ।
कार्यक्रमसँगै SONA को सामाजिक उत्तरदायित्व समितिले सञ्चालन गरिरहेको बाढीपीडितका लागि राहत सामग्री संकलन अभियानलाई समेत निरन्तरता दिइएको थियो। इच्छुक सहभागीलाई कार्यक्रमकै दिन राहत सामग्री उपलब्ध गराउन आग्रह गरिएको थियो।





