हिमालयन दरबार सञ्चालनमा, बाढीपीडितलाई बिक्रीको १५ प्रतिशत रकम सहयोग गर्ने



काठमाडौं । लगानीको प्रतिकूल वातावरण र आर्थिक मन्दीका बीच युवा उद्यमीहरूले स्वदेशमै लगानी र रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ‘हिमालयन दरबार’ सञ्चालनमा ल्याएका छन्।

हिमालयन दरबार प्राइभेट लिमिटेडले निर्धारित समयअगावै सफ्ट ओपनिङ गर्दै आफ्ना सम्पूर्ण सेवा सुरु गरेको जनाएको छ। कम्पनीले पछिल्लो समय देशका विभिन्न स्थानमा आएको बाढीबाट भएको जनधनको क्षतिलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितलाई सहयोग गर्ने निर्णयसमेत गरेको छ।

कम्पनीका अनुसार सफ्ट ओपनिङपछि पहिलो एक हप्तामा हुने कुल बिक्रीको १५ प्रतिशत रकम बाढीपीडितको सहयोगमा उपलब्ध गराइनेछ। आर्थिक मन्दीका कारण लगानीका लागि प्रतिकूल अवस्था रहे पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ।

हिमालयन दरबारमा विशेषगरी दाङमा पकाइने शैलीको थकाली खाना, आगोमा पोलेको सेकुवा, लोकल कुखुराको मासु, बाचिपा, आगोमा पोलेको माछालगायत विभिन्न मौलिक नेपाली परिकार उपलब्ध हुने बताइएको छ। त्यस्तै, नेवारी परिकार तथा विभिन्न मल्टिकुजिन खानाका विकल्पसमेत ग्राहकले प्राप्त गर्नेछन्।

खानासँगै ग्राहकका लागि ‘कफी दरबार’ र विभिन्न नयाँ तथा परिष्कृत ककटेलसहितको ‘हिमालयन बार’ समेत सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

हिमालयन दरबारले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा भाटभटेनीमा किनमेल गर्ने ग्राहक तथा त्यहाँ कार्यरत कर्मचारीका लागि विशेष छुटको व्यवस्था गरेको जनाएको छ।

कम्पनीका अध्यक्ष दुर्गा योञ्जनले युवाहरूलाई स्वदेशमै लगानी गर्न प्रेरित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र युवा पलायन न्यूनीकरणमा योगदान पुर्‍याउने उद्देश्यले हिमालयन दरबार सञ्चालनमा ल्याइएको बताए।

कम्पनीले आगामी दिनमा ग्राहकका आवश्यकता, इच्छा र चाहनालाई मध्यनजर गर्दै सेवा तथा सुविधालाई थप परिष्कृत र परिमार्जन गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २२ गते सोमवार