काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको १४औँ तथा १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष रविन्द्रलाल श्रेष्ठको अध्यक्षतामा बिहीबार काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा साधारण सभा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वासलात, आय–व्यय र नगद प्रवाहलगायत वित्तीय विवरण छलफल गरी पारित गरेको छ।
सभाबाट कम्पनीको कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत भएको छ। विद्युत नियमन आयोगबाट आवश्यक स्वीकृति प्राप्त गरी बोनस शेयर वितरण गरिने कम्पनीले जनाएको छ। त्यस्तै, शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।
विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा पुँजी वृद्धि लगायत आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरिएको छ। नियमनकारी निकायबाट संशोधन, फेरबदल वा थपघट गर्न निर्देशन आएमा सोहीअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णयसमेत सभाले गरेको छ। सञ्चालक समितिको दैनिक भ्रमण भत्तासम्बन्धी प्रस्ताव पनि अनुमोदन भएको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले माण्डु हाइड्रोपावरले जलविद्युतको माध्यमबाट मुलुकको ऊर्जा विकासमा योगदान पुर्याउँदै आएको बताए। उनले आयोजनाको दिगो सञ्चालन, उत्पादन क्षमता विस्तार र शेयरधनीको हितलाई प्राथमिकतामा राखेर कम्पनी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष श्रेष्ठका अनुसार बागमती साना जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा प्रभावकारी रूपमा जोड्दै कम्पनीले आफ्नो व्यावसायिक गतिविधि विस्तार गरिरहेको छ। आगामी दिनमा जलविद्युत क्षेत्रमा थप सम्भावना पहिचान गरी आयोजना विस्तारमा जोड दिने उनको भनाइ थियो।
सभामा सहभागी शेयरधनी तथा वक्ताहरूले कम्पनीले जलविद्युत उत्पादन र व्यावसायिक सञ्चालनमा गरेको प्रगतिलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा वित्तीय अवस्था थप सुदृढ बनाउन सुझाव दिएका थिए। उनीहरूले शेयरधनीको प्रतिफल, पारदर्शिता, सुशासन तथा दीर्घकालीन व्यावसायिक विकासलाई प्राथमिकतामा राख्न व्यवस्थापनको ध्यानाकर्षण गराएका थिए।
माण्डु हाइड्रोपावरले बागमती साना जलविद्युत आयोजनामार्फत हाल कुल ३२ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गरिरहेको जनाएको छ। २२ मेगावाट क्षमताको आयोजनाले २०७५ चैत १९ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो भने थप १० मेगावाट विद्युत २०८२ चैत २६ गतेदेखि व्यावसायिक उत्पादनमा आएको कम्पनीले जनाएको छ।
कम्पनीले जलस्रोतलाई नेपालको महत्वपूर्ण तथा दिगो ऊर्जा स्रोतका रूपमा विकास गर्दै ऊर्जा उत्पादन बढाउने, आन्तरिक खपत विस्तार गर्ने र अतिरिक्त विद्युत छिमेकी मुलुकमा निर्यात गर्ने राष्ट्रिय लक्ष्यमा योगदान पुर्याउने उद्देश्य लिएको जनाएको छ। जलविद्युत आयोजनाको विकास, विस्तार तथा सञ्चालनमार्फत ऊर्जा उत्पादन वृद्धि गरी राष्ट्रिय अर्थतन्त्र र ऊर्जा सुरक्षामा योगदान पुर्याउने लक्ष्यलाई निरन्तरता दिने कम्पनीको भनाइ छ।





