शिक्षकलाई ५० हजार प्रोत्साहन भत्ता



काठमाडौं । तनहुँको भानु नगरपालिकाले स्वेच्छिक अवकाश हुने शिक्षकलाई ५० हजार प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिए पछि नगरपालिकाले प्राथमिक तहका शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो । राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकलाई ५० हजार प्रोत्साहन भत्ता प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा प्राथमिक तहमा १०० जना शिक्षक दरबन्दी बढी रहेको र शिक्षक दरबन्दी बढी हुँदा नेपाल सरकारलाई आर्थिक भार परेकाले प्रोत्साहन भत्ता दिएर सम्मानजनक विदाई गर्ने गरिएको नगर शिक्षा अधिकारी धु्रवराज पौडेलले बताउनुभयो ।

सम्मानजनक विदाई कार्यक्रम अन्तर्गत ऐच्छिक अवकाश लिनेलाई नगरपालिकाको आन्तरिक स्रोतबाट ५० हजार नगद प्रोत्साहन रकम १३ जना शिक्षकलाई ६ लाख ५० हजार रुपियाँ प्रदान गरिसकिएको पौडेलले जानकारी दिनुभयो । एक जना शिक्षक बराबर नेपाल सरकारलाई वार्षिक चार लाख रुपियाँभन्दा बढी आर्थिक भार पर्ने गरेको छ ।

अवधि पुगेका शिक्षकलाई अवकाश गर्न प्रोत्साहन गर्नेजस्ता कार्यलाई प्राथमिकता दिइएको पौडेलले बताउनुभयो ।विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी बढी हुँदा शिक्षकको व्यवस्थापन गर्न ‘सम्मानजनक शिक्षक विदाई कार्यक्रम छनोट गरी वजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

नगर शिक्षा अधिकारी पौडेलकाअनुसार प्राथमिक तहमा १७९ दरबन्दी रहेकोमा १०० बढी भएपनि निम्नमाध्यामिक तथा माध्यमिक तहमा भने शिक्षक सङ्ख्या कम छ ।

निम्नमाध्यामिक विद्यालयमा ११५ जना शिक्षक चाहिनेमा ८९ मात्रै भएकाले २६ दरबन्दी कम रहेको छ । माध्यामिक तहमा १११ चाहिनेमा ९० जना मात्रै भएकोले २१ शिक्षक कम रहेको उहाँको भनाई छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार