‘प्रचण्डले चुनाव जित्दैनन्, माधव नेपाल समानुपातिकमा बस्छन्’ : ओली



झापा । सरकारका वरिष्ठ मन्त्रीहरुले नै ‘अर्ली इलेक्सन’को तयारीबारे मुख खोलिरहेकाबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको सम्भावित पूर्वानुमान गर्नुभएको छ । झापाको विर्तामोडमा आइतबार तीन हजारभन्दा बढीलाई एमालेमा स्वागत गर्ने कार्यक्रममा अध्यक्ष ओलीले सम्भावित चुनावी परिणामबारे बोल्नुभएको हो ।

उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव नजित्ने ठोकुवा गर्नुभयो । उहाँको भनाइ थियो, ‘प्रचण्डले चुनाव जित्दैनन्, माधव नेपाल समानुपातिकमा बस्छन् ।’ अध्यक्ष ओलीले माधव नेपालको नामै लिएर ‘गद्दारहरुले विरोधीसँग लागेर एमालेलाई दुःख दिएको’ बताउनुभयो । उहाँले दोहोर्‍याउनुभयो, ‘माधव नेपाल जस्ता अपराधीलाई एमालेले लिदैन ।’

सबै लाग्दा आफू नेतृत्वको सरकार तीन वर्षमा मात्रै ढालेको स्मरण गर्दै उहाँले अहिलेको सरकार तीन महिनममा नै ढलपल-ढलपल अवस्थामा रहेको टिप्पणी गर्नुभो । एमालेले जस्तो विधान महाधिवेशन र देशैभर एकैदिन वडा अधिवेशन अर्को कुनै पनि दलले गर्न नसक्ने अध्यक्ष ओलीको जिकिर थियो । ‘अरु कुनै पार्टीले यस्तो गर्न सक्दैन, यो सामर्थ्य अरुसँग छैन,’ उहाँको भनाइ थियो, ‘एमाले विचारमा मात्र होइन, लोकतान्त्रिक आचमरणमा पनि अगाडि छ ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी एमाले ‘नेपालव्यापी मात्र होइन। नेपाली व्यापी समेत रहेको’ बताउनुभयो । एमालेका नवप्रवेशीलाई ढाडस दिंदै अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले प्रवेश गरेकोमा कुनै दिन पनि पछुतो मान्नुपर्दैन ।’

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार