६ हजार रुपैयाँ लिएर ग्रेड नबढाए पछि विद्यार्थीहरुले हेडमास्टरको घर घेरे



जनकपुरधाम । प्रदेश नम्बर २ को धनुषाजिल्लास्थित एक समुदायिक विद्यालयका विद्यार्थीहरुले हेडमास्टरको घर घेराउ गरेका छन् । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर १ ठाढीस्थित रहेको मावि ठाढीका हेडमास्टर र शिक्षकको टीमले एसईई दिने विद्यार्थीहरुसँग आन्तरिक मूल्याँकनमा अधिक नम्बर दिने भनेर प्रति विद्यार्थी रकम उठाएको आरोप लगाउँदै विद्यार्थीहरुले उनको घर घेराउ गरेका छन् ।

शनिबार दिउँसो एसईईको रिजल्ट प्रकाशित भएपछि कम ग्रेड आएको भन्दै आ’क्रोसित विद्यार्थीहरुले आईतबार साँझ विद्यालयका हेडमास्टर उमेश पाण्डेको घर घेराउ गरेका छन् ।रकम दिएको भन्दै विद्यार्थीहरुले सुरुमा विद्यालयको कार्यालयमा तालाबन्दी गर्दै साँझ हेडमास्टरको घर घेराउ गर्न पुगेको नाम नखोल्ने शर्तमा एक जनाले जानकारी दिए । विद्यार्थीहरुले आफूहरुबाट प्रति विद्यार्थी ६ हजार रुपैयाँ लिएको आरोप लगाएका छन् ।

विद्यालयका हेडमास्टर पाण्डे सहित उनका मातहतका पनि केही शिक्षकहरुले विद्यार्थीहरुबाट रकम उठाएको बताइएको छ । वि।सं। २०७७ सालको एसइई परीक्षाको लागि कोरोना भन्दै सरकारले आन्तरिक मूल्याँकन गरी नम्बर पठाउन निर्देशन दिएपछि आर्थिक चलखेल गरी नम्बर दिएको आरोप छ । कोरोनाको महामारी भन्दै सरकारले भौतिक रुपमा परीक्षार्थीहरुलाई उपस्थिति गराउनुपर्ने अवस्था नरहेको अवस्थामा विद्यालयहरुलाई आन्तरिक मूल्याँकन गरी अँक पठाउन पत्राचार गरिएको थियो ।

सोही मौका छोपी केही जनप्रतिनीधि र शिक्षकहरुले समेत आर्थिक प्रभावमा परी विद्यार्थीहरुको नम्बर घटबढ गरेको आरोप छ । जसमा विदेह नगरपालिकाका मेयर बेचन दासका भाई लखन दास समेतको सँलग्नता रहेको बताइएको छ । यस बारे विद्यालयका हेडमास्टर उमेश पाण्डेसँग सम्पर्क गर्दा उनले फोन भने उठाएनन् ।

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार