नेपाल–फिनल्यान्ड व्यापारिक साझेदारी विस्तारमा निजी क्षेत्रको भूमिका बढाउन जोड



काठमाडौं । नेपाल र फिनल्यान्डबीच व्यापार, लगानी, पर्यटन, प्रविधि, शिक्षा तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्न निजी क्षेत्रको सक्रियता बढाउनुपर्नेमा जोड दिइएको छ। नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको चौथो वार्षिक साधारणसभामा सहभागी वक्ताहरूले दुई देशबीच आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताएका हुन्।

साधारणसभामा फिनल्यान्डका लागि नेपालस्थित राजदूत पेट्री पुभाक्का प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा चेम्बरका अध्यक्ष प्रज्वल जंग पाण्डेले सन् २०२२ मा स्थापना भएको संस्थाले नेपाल र फिनल्यान्डबीच आर्थिक कूटनीति तथा व्यापारिक साझेदारी सुदृढ गर्न सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए।

उनले नेपाली उत्पादनको फिनल्यान्डमा निर्यात प्रवर्द्धन, व्यापारिक सम्बन्ध विस्तार तथा लगानीका नयाँ अवसर सिर्जना गर्न चेम्बरले प्राथमिकता दिएको उल्लेख गरे। नेपाल र फिनल्यान्डबीच पर्यटन, प्रविधि, नवप्रवर्तन तथा दिगो विकासका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको उनको भनाइ थियो।

फिनल्यान्डको आधुनिक प्रविधि तथा नवप्रवर्तनलाई नेपालको प्राकृतिक स्रोत, पर्यटन र व्यावसायिक सम्भावनासँग जोडेर नयाँ साझेदारी विकास गर्न सकिने अध्यक्ष पाण्डेले बताए।

नेपाली उत्पादनको बजार विस्तारमा पहल

कार्यक्रममा चेम्बरका मानार्थ सदस्य राजेश काजी श्रेष्ठले नेपाली उत्पादनलाई फिनल्यान्डको बजारमा स्थापित गराउन भइरहेका प्रयासबारे जानकारी गराए।
उनका अनुसार नेपाली चिया, गलैंचा, कफी, हस्तनिर्मित सामग्री, हर्बल साबुन, नेपाली कागज तथा जुत्तालगायत उत्पादनको बजार प्रवर्द्धनका लागि पहल भइरहेको छ। नेपाली कफी, नेपाली कागज र गोल्डस्टार जुत्ताको ब्रान्ड प्रवर्द्धनमा समेत प्रयास गरिएको उनले बताए।
श्रेष्ठले फिनल्यान्डको दूतावास तथा त्यहाँका व्यावसायिक संस्थासँग सहकार्य विस्तार गर्दै व्यापारका अतिरिक्त शिक्षा, पर्यटन, प्रविधि र लगानीका क्षेत्रमा समेत सम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड दिए।

लगानीका क्षेत्रमा पर्याप्त सम्भावना

प्रमुख अतिथि राजदूत पेट्री पुभाक्काले नेपाल र फिनल्यान्डबीच हाल व्यापारको मात्रा अपेक्षाकृत कम भए पनि यसको विस्तारका लागि पर्याप्त सम्भावना रहेको बताए।
नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय तथा उद्यमशीलताका क्षेत्रमा लगानीका अवसर रहेको उल्लेख गर्दै उनले फिनल्यान्डको प्रविधि, नवप्रवर्तन र दिगो व्यावसायिक अभ्यासबाट नेपालले लाभ लिन सक्ने बताए।
स्वच्छ ऊर्जा, चक्रीय अर्थतन्त्र, शिक्षा तथा प्रविधिका क्षेत्रमा निजी क्षेत्रको सक्रिय सहभागिताले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास पनि उनले व्यक्त गरे।

पर्यटन तथा व्यापार क्षेत्रमा योगदान पुर्‍याउने सम्मानित

चेम्बरको चौथो वार्षिक साधारणसभाका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको छ।
पर्यटन क्षेत्रमा योगदान पुर्‍याएको भन्दै शिव ढकाललाई ‘टुरिजम एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ। त्यस्तै, व्यापार क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उत्तम सिलवाललाई ‘ट्रेड एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ।
चेम्बरलाई विशेष सहयोग तथा योगदान पुर्‍याएको भन्दै राजेश काजी श्रेष्ठलाई ‘आउटस्ट्यान्डिङ सपोर्ट अवार्ड’बाट सम्मान गरिएको संस्थाले जनाएको छ।
कार्यक्रमको समापन गर्दै चेम्बरका वरिष्ठ उपाध्यक्ष विश्वेश श्रेष्ठले सहभागी, अतिथि, सहयोगी तथा सदस्यहरूलाई धन्यवाद व्यक्त गरे। उनले साधारणसभाले नेपाल र फिनल्यान्डबीच व्यापारिक, आर्थिक तथा संस्थागत साझेदारी विस्तारमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बुधवार