काठमाडौं । क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा क्यान्सरलाई पराजित गरी नयाँ जीवनयात्रामा अघि बढिरहेका व्यक्तिहरूको साहस र संघर्षलाई सम्मान गर्ने उद्देश्यसहित ‘नो सेभ नोभेम्बर–फेसन फर अ कज २०२६’ आयोजना हुने भएको छ।
एन्ट फाउन्डेसनको आयोजना तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा हुन लागेको कार्यक्रमको छैटौँ संस्करण आगामी मंसिर १३ गते शनिबार काठमाडौंको नन्दिकेश्वर बगैँचा (नारायण चौर) मा आयोजना हुनेछ। ‘क्यान्सर सचेतनाका लागि सँगै हिँडौँ’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको अभियानअन्तर्गत मुख्य कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। कार्यक्रम उद्घाटनका लागि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललाई आमन्त्रण गरिएको छ।
सन् २०२१ मा स्थापना भएको एन्ट फाउन्डेसनले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, सांस्कृतिक सम्पदाको प्रवर्द्धन तथा सामुदायिक सहभागितामार्फत सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्दै आएको छ। फाउन्डेसनले सन् २०२१ देखि सुरु गरेको ‘नो सेभ नोभेम्बर–फेसन फर अ कज’ अभियानले पाँच संस्करण सफलतापूर्वक सम्पन्न गर्दै छैटौँ संस्करणसम्म आइपुगेको हो।
अभियानमार्फत फेसन, खेलकुद, कला तथा विभिन्न सामुदायिक गतिविधिलाई जोड्दै सयौँ मोडल, सार्वजनिक व्यक्तित्व, संघसंस्था र सर्वसाधारणलाई क्यान्सर सचेतनाको अभियानमा सहभागी गराउँदै आएको छ।
यस वर्षको अभियानअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियानअन्तर्गत आयोजित ‘पेडल फर प्रिभेन्सन’ साइकल र्यालीमा ४५० भन्दा बढी साइकलयात्री सहभागी भएका थिए। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुभारम्भ गरेको उक्त र्याली काठमाडौं हुँदै पाटन दरबार स्क्वायरसम्म पुगेको थियो।
त्यसैगरी, ‘एक्सेलेरेट फर क्यान्सर अवेयरनेस’ नामक मोटरसाइकल र्यालीमा ७० भन्दा बढी बाइकर सहभागी भएका थिए। भक्तपुर र कीर्तिपुर क्षेत्र समेटिएको उक्त र्यालीमार्फत क्यान्सरविरुद्ध सचेतना फैलाउने सन्देश प्रवाह गरिएको थियो।
अभियानकै अर्को कार्यक्रमका रूपमा मंसिर ८ गते ‘रन फर रेजिलियन्स’ नामक सचेतनामूलक दौड आयोजना गर्ने कार्यक्रम रहेको छ। उक्त दौडमा ३०० भन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ। नक्सालस्थित नन्दिकेश्वर बगैँचाबाट सुरु हुने दौड वसन्तपुर दरबार स्क्वायर पुगेर पुनः सोही स्थानमा फर्किनेछ। क्यान्सरबाट प्रभावित तथा रोगलाई जितेर जीवनमा अघि बढिरहेका व्यक्तिहरूप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले दौड आयोजना गर्न लागिएको हो।
मंसिर १३ गते हुने मुख्य कार्यक्रममा क्यान्सर विजेता, चिकित्सक, कलाकार, सार्वजनिक व्यक्तित्व तथा सर्वसाधारणको सहभागितामा बृहत् ऐक्यबद्धता पदयात्रा गरिनेछ। पदयात्रामा सहभागी हुन प्रतिव्यक्ति एक हजार रुपैयाँ योगदान गर्न सकिने व्यवस्था गरिएको छ। उक्त पदयात्रामा सहभागी भएर क्यान्सर प्रभावित तथा क्यान्सरलाई जितेका व्यक्तिहरूसँगै हिँड्दै उनीहरूको संघर्षप्रति सम्मान र समर्थन जनाउन सकिनेछ। पदयात्राका लागि खल्ती बाई आईएमई एपमार्फत दर्ता गर्न सकिने आयोजकले जनाएको छ।
कार्यक्रममा क्यान्सर सचेतनासम्बन्धी विज्ञ तथा सरोकारवालाबीच छलफल गर्न प्यानल छलफल, सामाजिक सन्देशसहितको फेसन रनवे प्रस्तुति तथा विभिन्न सांगीतिक कार्यक्रम पनि समावेश गरिनेछन्। साथै, खानाका परिकार, खुद्रा सामग्री तथा विभिन्न ब्रान्डका स्टलहरू रहनेछन्। यसले स्थानीय व्यवसाय तथा ब्रान्डहरूलाई आफ्नो उत्पादन र सेवा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ।
कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ। व्यक्ति, परिवार, शैक्षिक संस्था, कर्पोरेट समूह, युवा क्लब तथा विभिन्न संघसंस्थालाई कार्यक्रममा सहभागी भई अभियानलाई सफल बनाउन आयोजकले आग्रह गरेको छ।
आयोजकका अनुसार क्यान्सर सचेतना कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व हो। फेसन, खेलकुद, कला र सामुदायिक सहभागितालाई एउटै अभियानमा जोडेर क्यान्सरबारे खुला संवाद, जनचेतना र आपसी सहयोगको वातावरण निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
कार्यक्रममा पोखरा पानोरमा रिसोर्ट एन्ड स्पा पावर्ड बाईका रूपमा रहेको छ भने बिग बेल एडुटेनमेन्ट इभेन्ट पार्टनर रहेको छ। फेसन नेटवर्क नेपाल र आइडियाजवोर्क्स रणनीतिक साझेदार तथा नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी, नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसन र क्यान्सर केयर नेपाल कारण साझेदारका रूपमा रहेका छन्।
त्यस्तै, काठमाडौं महानगरपालिका वडा नम्बर १ र २६ तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियानका साझेदार छन्। मिडिया पार्टनरका रूपमा वाउ, प्रोडक्सन पार्टनरका रूपमा प्याराडाइम र डिजिटल भुक्तानी साझेदारका रूपमा खल्ती बाई आईएमई रहेका छन्। बानेश्वर हिल्स कार्यक्रमको भेन्यु पार्टनर रहेको छ।
विभिन्न बैंक, शैक्षिक संस्था, सामाजिक संघसंस्था, क्लब, साइकल तथा मोटरसाइकल समूह, फेसन संस्था र व्यावसायिक प्रतिष्ठानले समेत अभियानमा सहकार्य तथा सहयोग गरिरहेका छन्।
‘आशाका लागि हिँडौँ, साहसका लागि उभिऔँ र परिवर्तन ल्याऔँ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको यस कार्यक्रमले क्यान्सरविरुद्धको सामूहिक प्रयासलाई थप सशक्त बनाउँदै समाजमा सचेतना, सहकार्य र सकारात्मक सोचको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।












