मस्कुलोस्केलेटल अन्कोलोजी सोसाइटी अफ नेपालको तेस्रो द्विवार्षिक सम्मेलन सम्पन्न



काठमाडौं । मस्कुलोस्केलेटल अन्कोलोजी सोसाइटी अफ नेपालको तेस्रो द्विवार्षिक सम्मेलन भक्तपुरमा सम्पन्न भएको छ। भक्तपुर क्यान्सर अस्पतालको सहकार्यमा नोभेम्बर २१, २०२६ मा आयोजित सम्मेलनमा हाडजोर्नी तथा नरम तन्तुमा हुने क्यान्सरको निदान, उपचार, अनुसन्धान तथा आधुनिक प्रविधिका विषयमा विशेषज्ञहरूबीच छलफल गरिएको छ।
‘फर्स्ट डु नो हार्म’ (First Do No Harm) भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।

सम्मेलनमा हड्डी तथा नरम तन्तुको क्यान्सर पहिचान, उपचारका नवीनतम विधि, शल्यक्रियापछिको पुनर्निर्माण, रेडियोथेरापी तथा उपचारका क्रममा देखिने चुनौतीबारे विभिन्न प्राविधिक प्रस्तुति र छलफल गरिएको थियो।
कार्यक्रमअन्तर्गत इविङ सार्कोमा, रेट्रोपेरिटोनियल सार्कोमा, उच्च ग्रेडका सार्कोमा तथा बालबालिकामा देखिने सार्कोमाको उपचारसम्बन्धी विषयमा विशेषज्ञहरूले आफ्ना अनुभव र अनुसन्धान प्रस्तुत गरेका थिए।

त्यसैगरी, क्यान्सर उपचारमा आणविक निदानको भूमिका, इम्प्लान्टको डिजाइन तथा गुणस्तर सुनिश्चितता, थ्रीडी प्रिन्टेड स्काफोल्डको प्रयोग र हड्डीको ट्युमर हटाएपछि गरिने पुनर्निर्माणका विषयमा समेत छलफल गरिएको थियो।

सम्मेलनको समापन समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

सम्मेलनले नेपालमा हड्डी तथा नरम तन्तुको क्यान्सरको निदान र उपचार सेवाको गुणस्तर अभिवृद्धि गर्नुका साथै विशेषज्ञ चिकित्सकबीच ज्ञान, अनुभव र नवीनतम उपचार पद्धतिको आदानप्रदानमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर ६ गते शनिवार