काठमाडौं । स्कटिस ब्याटर जर्ज मन्सेको आक्रामक शतकको मद्दतमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । १५६ रनको लक्ष्य सुदूरपश्चिमले मात्र १३.३ ओभरमा कुनै विकेट नगुमाई १५८ रन बनाउँदै सहजै पूरा गर्यो ।
तेस्रो प्रयासमा सुदूरपश्चिमको उपाधि र बदला
अघिल्ला दुवै संस्करणको फाइनलमा पुगेर उपाधिबाट विमुख बनेको सुदूरपश्चिमले तेस्रो प्रयासमा ट्रफी उचालेको हो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणको उपाधि भिडन्तमा लुम्बिनी लायन्ससँगै स्तब्ध भएको थियो ।
गत वर्षको फाइनलदेखि जारी संस्करणको क्वालिफायरसम्म लुम्बिनीले सुदूरपश्चिमलाई लगातार तीन खेलमा हराएको थियो । तर, फाइनलमा मन्से चम्किएपछि सुदूरपश्चिमले अघिल्ला सबै हारको बदला लिँदै ऐतिहासिक जित दर्ता गर्यो ।
मन्सेको कीर्तिमानी शतक
प्लेअफका अघिल्ला दुई खेलमा चल्न नसकेका जर्ज मन्सेले फाइनलमा भने विस्फोटक ब्याटिङ गरे । उनले मात्र ४९ बल खेल्दै ८ चौका र ८ छक्काको मद्दतमा शानदार शतक पूरा गरे ।
यससँगै मन्से एनपीएलको फाइनलमा शतक प्रहार गर्ने पहिलो तथा समग्र एनपीएल इतिहासमा शतक बनाउने छैटौं खेलाडी बनेका छन् । जारी सिजनमा शतक प्रहार गर्ने उनी तेस्रो ब्याटर हुन् । यसअघि पोखरा एभेन्जर्सका युवराज सम्रा र चितवन राइनोजका कमिल मिशाराले शतक बनाएका थिए ।
लुम्बिनीको इनिङ्स
त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीको सुरुवात सुखद रहन सकेन । यसै सिजन लुम्बिनीमा अनुबन्ध भएका ओपनर आसिफ शेख व्यक्तिगत १ रनमै पेभेलियन फर्किए । तेस्रो ओभरमा स्कट कुगेलेइनको बलमा एलबीडब्लु धरापमा परेका आसिफले डीआरएस रिभ्यु लिए पनि बलले स्टम्प लागेको देखिएपछि आउट भए । छैटौं ओभरको तेस्रो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले डार्शी शर्टलाई बोल्ड गर्दै लुम्बिनीलाई दबाबमा राखे । शर्टले १८ बलमा ४ चौकासहित २१ रन जोडे ।
३५ रनमा २ विकेट गुमाएको अवस्थाबाट कप्तान रोहित कुमार पौडेल र विकेटकिपर निरोशन डिकवेलाले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरे । ११औं ओभरमा थरिन्दु रत्नायकेले डिकवेलालाई बोल्ड गरेपछि यो साझेदारी टुट्यो । डिकवेलाले १७ बलमा १ चौका र २ छक्कासहित २८ रन बनाए ।
त्यसपछि रोहितले दिलिप नाथसँग ३४ रनको साझेदारी गरे । १५औं ओभरको अन्तिम बलमा रनआउट हुनुअघि रोहितले ३१ बलमा ४ चौका प्रहार गर्दै ३० रन जोडे । लगत्तै क्रिजमा आएका सन्दीप जोरा ४ रन बनाएर आउट भए ।
अन्तिमतिर दिलिप नाथ र अली शेखले छैटौं विकेटका लागि ३३ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए । आक्रामक ‘क्यामियो’ इनिङ्स खेलेका अली शेखले १२ बलमा समान २ चौका र २ छक्कासहित २४ रन योगदान गरे । अन्तिमसम्म अविजित रहेका दिलिप नाथले सर्वाधिक ३९ रन (३१ बल, ३ छक्का) बनाए भने रुबेन ट्रम्पलम्यान ४ रनमा अविजित रहे ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए भने थरिन्दु रत्नायके, कप्तान दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले समान १-१ विकेट हात पारे ।










