माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुल्यो, मंसिर ७ देखि आवेदन दिन सकिने



काठमाडौँ, कार्तिक ३० । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ विज्ञापन खुलाएको छ । आयोगले २०८३ सालको विज्ञापन नम्बर ४५/०८३/८४ अन्तर्गत इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूबाट अनलाइन दरखास्त आह्वान गरेको हो ।

आयोगद्वारा जारी सूचनाअनुसार आगामी मंसिर ७ गते सोमबारदेखि अनलाइन आवेदन प्रणाली खुला हुनेछ । सामान्य दस्तुरमा आवेदन दिने अन्तिम मिति पुस ७ गतेसम्म तोकिएको छ । निर्धारित समयभित्र आवेदन दिन छुटेका उम्मेदवारहरूले दोब्बर दस्तुर तिरेर पुस १४ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन् ।

आवेदनका लागि एक हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको छ । उम्मेदवारहरू दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ भने शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) ले तोकेको न्यूनतम शैक्षिक योग्यता तथा तालिम पूरा गरेको हुनुपर्ने आयोगले जनाएको छ ।

लिखित तथा वस्तुगत प्रणालीमा सञ्चालन हुने उक्त परीक्षाको मिति र समय भने पछि प्रकाशन गरिनेछ । परीक्षा केन्द्रहरू सातवटै प्रदेशका राजधानी रहेका जिल्लाहरू तथा आयोगले आवश्यकताअनुसार तोकेका अन्य जिल्लामा रहनेछन् । इच्छुक उम्मेदवारले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली (license.tsc.gov.np) मार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २०८३ मङ्सिर २ गते मङ्गलवार