रास्वपा विधिमा विश्वास गर्छ, समर्थकले जे गरे पनि छुट हुन्छ भन्ने हुँदैन: रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको नेतृत्व विकास तल्लो तहबाटै सुरु गर्नुपर्ने बताएका छन्। निर्वाचन क्षेत्र भ्रमणका क्रममा इच्छाकामनाका स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाटमा जिम्मेवारी जुनसुकै बेला आउन सक्ने बताए।

वडा, पालिका, जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म नेतृत्व गर्न सक्ने जनशक्ति तयार गर्नुपर्नेमा जोड दिए। पार्टीको संरचनालाई बलियो बनाउन तल्लो तहबाटै नेतृत्व विकास र जिम्मेवारी बाँडफाँडको अभ्यास आवश्यक रहेको बताए। पार्टीका मतदाता वा सदस्य भएकै आधारमा कसैलाई पनि गलत काम गर्ने छुट नरहेको स्पष्ट पारे।

उनले भने, ‘पार्टीका समर्थकले जे गरे पनि हुन्छ भन्ने होइन। पार्टी विधिमा चल्छ भन्दैमा आफ्ना नेता तथा समर्थकलाई पनि जे गरे पनि छुट हुँदैन। हामी विधिमा विश्वास गर्छौँ। सबै संस्था र राज्यका निकायहरूले विधिको पालना गर्न सकून् र त्यसलाई अझ बढी अभ्यासमा ल्याउन सकून् भनेर हामी काम गरिरहेका छौँ।’

ठूलो जिम्मेवारमा भएकाले लामो समयदेखि आफ्नो निर्वाचन क्षेत्रमा आउन नपाएको बताए।

उनले थपे, ‘म तपाईँहरूको सम्पर्कबाट टाढा छैन। विभिन्न जिम्मेवारी छन्, यत्रो ठूलो पार्टी, यत्रा सांसद, यी सबै र पार्टीको यत्रो ठूलो संरचना चलाउनुपर्नेछ। अस्ति भर्खरै चितवनमा हामीले पहिलो ऐतिहासिक महाधिवेशन यहीँबाट गर्‍यौँ। हामीले पार्टी निर्माण गर्नुपर्नेछ। कहीँ न कहीँ पार्टीले सरकारलाई सकेको समन्वय गर्नुपर्नेछ।’

उनले पार्टीको समग्र संरचना निर्माण र विभिन्न क्षेत्रसँग समन्वय गर्नु सभापतिको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए। स्थानीय विकास निर्माणका कामलाई अगाडि बढाउन पार्टीको संस्थागत संरचनालाई सक्रिय बनाउनुपर्नेमा जोड दिए। उनले नागरिकले हरेक विषयमा सांसद नै खोज्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए।

उनले स्थानीय तहमा पार्टीका सम्भावित नेतृत्वको पहिचान र विकास गर्न कार्यकर्तालाई आग्रह गर्दै वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रसम्म जिम्मेवारी सम्हाल्न सक्ने नेतृत्व अहिलेबाटै तयार गर्नुपर्ने बताए।

प्रकाशित मिति : २०८३ कार्तिक २१ गते शुक्रवार