मकवानपुर कोरिया मञ्चले बाढीपीडितका लागि १० लाख वन सहयोग गर्ने



दक्षिण कोरिया । चीनको तिब्बत स्वायत्त क्षेत्रबाट आएको आकस्मिक जलप्रवाह तथा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि दक्षिण कोरियास्थित मकवानपुर कोरिया मञ्चले १० लाख कोरियन वन सहयोग गर्ने भएको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा बाढी तथा विपद्का कारण ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै मञ्चले आफ्नो आपत्कालीन राहत कोषमा रहेको रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

मञ्चको कार्यसमिति बैठकले १० लाख कोरियन वन सहयोग गर्ने निर्णय गरेको जनाएको छ। उक्त रकम नेपाली रुपैयाँमा करिब १ लाख ९ हजार ८ सय ८५ रुपैयाँ बराबर हुन्छ।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि देश तथा विदेशमा रहेका नेपालीहरू एकजुट हुनुपर्नेमा जोड दिँदै मञ्चले नेपाली समुदाय, संघ–संस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न अपिल गरेको छ।

मञ्चले विपद्को समयमा सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रम फैलाउने कार्य नगर्न समेत आग्रह गरेको छ। आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र आधार बनाएर विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउन सबैलाई मञ्चले अनुरोध गरेको हो।

मकवानपुर कोरिया मञ्चका अध्यक्ष निरञ्जन विक्रम ठकुरीले विपद्मा परेका नेपाली नागरिकको सहयोग गर्नु विदेशमा रहेका नेपालीहरूको समेत सामाजिक दायित्व भएको बताउनुभयो। उहाँले कठिन परिस्थितिमा मातृभूमिका नागरिकको पीडामा साथ दिन विदेशमा रहेका नेपालीहरूलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभयो।

मञ्चको यो सहयोगले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत पुर्‍याउन योगदान पुग्ने विश्वास गरिएको छ। साथै, विदेशमा रहेर पनि मातृभूमिको दुःख र संकटमा नेपाली समुदायले निर्वाह गर्दै आएको मानवीय जिम्मेवारी र सामाजिक एकताको भावनालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र १३ गते शनिवार