नाडा अटो शोमा बैंकहरूको आकर्षक अफर, अटो लोनको ब्याजदर ४.६६ प्रतिशतदेखि



काठमाडौं । १८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विभिन्न आकर्षक अटो लोन योजना सार्वजनिक गरेका छन्। बैंकहरूले ब्याजदर, कर्जा अवधि, सेवा शुल्क, डाउन पेमेन्ट तथा विद्युतीय सवारी (ईभी) कर्जामा विशेष सुविधा दिएका छन्। नाडा अटो शोमा सरकारी तथा निजी क्षेत्रका गरी १३ वटा वाणिज्य बैंक सहभागी छन्। ती बैंकहरूमा अटो लोनको ब्याजदर ४.६६ प्रतिशतदेखि ५.९९ प्रतिशतसम्म रहेको छ। बैंकअनुसार ब्याजदरको प्रकृति, कर्जा अवधि तथा सेवा शुल्क भने फरक–फरक छन्।

कृषि विकास बैंकले सबैभन्दा कम ४.६६ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ। बैंकले ७ वर्षसम्मको कर्जा अवधि राख्दै सेवा शुल्क र ब्याजदर प्रिमियममा ३३.३३ प्रतिशत छुट दिने जनाएको छ। ईभी खरिद गर्ने ग्राहकलाई सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ।

नेपाल बैंकले ४.९४ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ। यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ५.०२ प्रतिशत ब्याजदरमा अधिकतम १ करोड रुपैयाँसम्मको अटो लोन उपलब्ध गराउनेछ। सात वर्षसम्मको अवधिका लागि उपलब्ध हुने उक्त कर्जाको सेवा शुल्क अटो शो अवधिमा ०.७५ प्रतिशतबाट घटाएर ०.५० प्रतिशत कायम गरिएको छ। नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउँदै २० प्रतिशत डाउन पेमेन्टको योजना ल्याएको छ। योजनाअनुसार ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट र २० प्रतिशत क्रेडिट कार्डबाट भुक्तानी गर्दा बाँकी ६० प्रतिशत रकम बैंकले कर्जाका रूपमा उपलब्ध गराउनेछ।

एनआईसी एसिया बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा सात वर्षसम्मका लागि अटो लोन दिने भएको छ। अन्य अधिकांश बैंकले फ्लोटिङ ब्याजदरमा कर्जा उपलब्ध गराइरहेका बेला एनआईसी एसियाले स्थिर ब्याजदरको विकल्पसमेत दिएको हो। ईभी खरिदमा भने ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिने बैंकले जनाएको छ।

ग्लोबल आईएमई बैंकले ईभीका लागि ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ। सात वर्षे कर्जामा पहिलो तीन वर्ष ५.१७ प्रतिशत ब्याजदर कायम हुनेछ भने त्यसपछिका चार वर्षमा सम्बन्धित अवधिको बेस रेटमा २ प्रतिशत जोडेर ब्याजदर निर्धारण गरिनेछ। माछापुच्छ्रे बैंकले ५.४५ प्रतिशत ब्याजदरमा अधिकतम १० वर्ष अवधिको अटो लोन योजना ल्याएको छ। अटो शो अवधिभर सेवा शुल्कमा पनि छुट दिँदै ०.५० प्रतिशतबाट घटाएर ०.२५ प्रतिशत कायम गरिएको छ।

प्रभु बैंकले ५.४४ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.४९ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएका छन्। लक्ष्मी सनराइजको कर्जा सात वर्ष अवधिको फ्लोटिङ रेटमा उपलब्ध हुनेछ।

त्यस्तै, कुमारी बैंकले ५.२१ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५४ प्रतिशत, सिद्धार्थ बैंकले ५.९६ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.१३ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएका छन्। यी बैंकहरूले सात वर्षसम्मको अवधिका लागि फ्लोटिङ ब्याजदरमा कर्जा दिनेछन् भने सेवा शुल्क ०.५० प्रतिशत रहनेछ। यसरी नाडा अटो शोमा बैंकहरूले ब्याजदरमा मात्रै नभई कर्जाको अवधि, सेवा शुल्क, डाउन पेमेन्ट तथा ईभी खरिदका लागि उपलब्ध कर्जा सीमामा समेत ग्राहकलाई विभिन्न विकल्प दिएका छन्।

प्रकाशित मिति : २०८३ भाद्र १३ गते शनिवार