बागमतीका मुख्यमन्त्री बानियाँले भदौ ३ भित्र विश्वासको मत लिने



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

शनिबार बसेको कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत लिन निर्णय गरेको हो। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि साउन ६ गतेदेखि बानियाँ नेतृत्वको सरकार अल्पमतमा छ।

संवैधानिक व्यवस्थाअनुसार उनले भदौ ४ गतेभित्र विश्वासको मत लिनुपर्नेछ। सरकार जोगाउन कांग्रेसले साना दलको समर्थन जुटाउने प्रयास गरिरहेको छ।

यता एमाले र नेकपाबीच नयाँ सरकार गठनका लागि सहमति भए पनि एमालेभित्रको विवाद तथा राप्रपाको तटस्थ नीतिका कारण बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया अन्योलमा छ।

कांग्रेस संसदीय दलका सचिव मीनकृष्ण महर्जनका अनुसार विश्वासको मत लिनुभन्दा एक दिनअघि नै सांसदहरूलाई हेटौंडा उपस्थित हुन ह्वीप जारी गरिएको छ।

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतवार