काठमाडौं । फेसन, सिर्जनशीलता, डिजिटल कन्टेन्ट निर्माण तथा स्टोरीटेलिङ क्षेत्रमा योगदान पुर्याउने उत्कृष्ट सर्जक र कन्टेन्ट क्रिएटरहरूलाई ‘अजमेरा फेसन डिजाइन एक्सिलेन्स अवार्ड २०२६’ मार्फत सम्मान गरिएको छ।
राजधानीमा आयोजित विशेष समारोहमा तीन विधाअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने सर्जकहरूलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरिएको हो। ‘बेस्ट इन्गेजमेन्ट भिडियो’ विधामा नमामी शाक्य विजेता घोषित हुँदै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्। त्यस्तै ‘बेस्ट ब्रान्ड भिडियो’ विधामा प्रथा जोशी उत्कृष्ट ठहरिँदै एक लाख रुपैयाँ पुरस्कार हात पारिन्। ‘बेस्ट कन्सेप्ट एन्ड स्टोरीटेलिङ’ विधामा सुभाना कायस्थ विजयी भई २५ हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भइन्।
प्रत्येक विधामा अन्तिम चरणका तीन–तीन जना प्रतिस्पर्धीको नामावली सार्वजनिक गरिएको थियो। अन्तिम छनोटमा परेका प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट एक जनालाई विजेता घोषणा गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।
विजेताहरूलाई अजमेरा फेसन लिमिटेड भारतका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय अजमेराले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रम ब्ल्याक बुल गार्मेन्ट ट्रेडिङ प्रालिको प्रस्तुतिमा तथा अजमेरा फेसन प्रालिको आयोजनामा सम्पन्न भएको हो।
आयोजकका अनुसार अवार्डको उद्देश्य फेसन, डिजिटल कन्टेन्ट, स्टोरीटेलिङ तथा सामाजिक सञ्जालमार्फत सिर्जनात्मक योगदान पुर्याइरहेका प्रतिभाशाली सर्जकहरूलाई प्रोत्साहन र सम्मान गर्नु हो।
कार्यक्रममा फेसन व्यवसायी, कलाकार, सामाजिक सञ्जाल प्रभावक (इन्फ्लुएन्सर), डिजिटल क्रिएटर तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकले यस कार्यक्रमलाई सिर्जनशीलता, प्रेरणा, नेटवर्किङ र सम्मानको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
नेपालमा डिजिटल कन्टेन्ट निर्माण र फेसन उद्योगको विस्तारसँगै यस्ता अवार्ड कार्यक्रमहरूको महत्व बढ्दै गएको छ। यस्ता पहलहरूले नयाँ प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
कार्यक्रमलाई प्रिफ्याब प्यानल नेपाल, १०० पसल कुमारीपाटी, जेबी अटोमोटिभ तथा कलश स्टक मार्केटलगायत संस्थाहरूले सहयोग गरेका थिए।






