याडेआ ‘किनेस’ नेपालमा सार्वजनिक, उच्च प्रदर्शनयुक्त विद्युतीय मोटरसाइकलको नयाँ अनुभव



काठमाडौं, असार २०८३ । विश्वकै नम्बर–१ विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड याडेआले आफ्नो बहुप्रतीक्षित विद्युतीय मोटरसाइकल ‘याडेआ किनेस’ नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। नेपालका लागि याडेआको आधिकारिक वितरक कुजु नेपाल प्रालिले विशेष कार्यक्रममार्फत किनेसलाई नेपाली बजारमा प्रस्तुत गरेको हो।

कम्पनीका अनुसार याडेआ किनेसलाई दैनिक आवतजावतका लागि मात्र नभई उच्च गति, उत्कृष्ट प्रदर्शन, रोमाञ्चक राइडिङ अनुभव तथा आकर्षक डिजाइनलाई केन्द्रमा राखेर विकास गरिएको छ। आधुनिक प्रविधि र प्रिमियम अनुभव खोज्ने राइडरहरूलाई लक्षित गर्दै यो मोटरसाइकल बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

याडेआ किनेसमा ११ किलोवाट क्षमताको मिड–ड्राइभ मोटर जडान गरिएको छ, जसले ३०० एनएम टर्क उत्पादन गर्छ। मोटरसाइकलले शून्यदेखि ५० किलोमिटर प्रतिघण्टाको गति केवल ३ सेकेन्डमा प्राप्त गर्न सक्ने तथा यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ।

नेपालका विविध भौगोलिक अवस्था र उकालो सडकलाई ध्यानमा राखेर डिजाइन गरिएको किनेसले २० डिग्रीसम्मको चढाइ सहज रूपमा पार गर्न सक्ने क्षमता राख्छ। यसले कठिन सडकमा पनि भरपर्दो र सहज राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

मोटरसाइकलमा ४.६ किलोवाट–घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसलाई ४० भन्दा बढी सुरक्षा सुविधासहितको स्मार्ट ब्याट्री व्यवस्थापन प्रणाली (बीएमएस) ले सुरक्षित बनाएको छ। यसले ब्याट्रीको दीर्घायु बढाउनुका साथै सुरक्षित र विश्वसनीय सञ्चालन सुनिश्चित गर्ने बताइएको छ।

याडेआ किनेसले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित रेड डट डिजाइन अवार्ड समेत प्राप्त गरिसकेको छ। यसले याडेआको आधुनिक डिजाइन तथा विद्युतीय सवारी प्रविधिप्रतिको प्रतिबद्धता झल्काउने कम्पनीको विश्वास छ।
कार्यक्रममा कुजु नेपालका प्रतिनिधिले याडेआ किनेस केवल यातायातको साधन नभई शक्ति, प्रदर्शन र रोमाञ्चको अनुभव भएको उल्लेख गर्दै यसले नेपालमा विद्युतीय मोटरसाइकलप्रतिको धारणा सकारात्मक रूपमा परिवर्तन गर्ने विश्वास व्यक्त गरे।

नेपालमा याडेआ किनेसको अधिकतम खुद्रा मूल्य ६ लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको छ। उत्कृष्ट प्रदर्शन, नवीन प्रविधि र प्रिमियम राइडिङ अनुभव खोज्ने ग्राहकका लागि यो आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ।

सन् २००१ मा स्थापना भएको याडेआ हाल १५० भन्दा बढी देशमा सक्रिय रहेको विश्वकै अग्रणी विद्युतीय दुईपांग्रे सवारी निर्माता कम्पनी हो। कम्पनीले लगातार नौ वर्षदेखि विश्वको नम्बर–१ विद्युतीय दुईपांग्रे ब्रान्डको स्थान कायम राख्दै आएको दाबी गरेको छ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमवार