काठमाडौं, २३ माघ ।
सम्पत्ति मूल्यांकनकर्ता व्यवसायिक इन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए) को १५औँ स्थापना दिवस पेशागत एकता, मर्यादा र असल अभ्यासको प्रवर्द्धनमा जोड दिँदै मनाइएको छ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलको प्रमुख आतिथ्यमा शुक्रबार राजधानीमा आयोजित विशेष समारोहका बीच एनभिएले आफ्नो १५औँ वार्षिकोत्सब सम्पन्न गरेको हो।
स्थापना दिवसको अवसरमा एसोसिएशनका वरिष्ठ सदस्य तथा मधेस प्रदेशका पूर्व अध्यक्ष इन्जिनियर दिलीप कुमार श्रीवास्तवलाई संस्थामा उनले पुर्याएको दीर्घकालीन र महत्वपूर्ण योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको थियो।
समारोहमा प्रमुख अतिथि पौडेलले वर्तमान समयमा पेशागत अधिकारको संरक्षण र प्रवर्द्धनमा संघ–संस्थाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै एनभिएले संस्थागत स्वीकार्यता कायम गर्दै सदस्यहरूको हितमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले देशको वित्तीय स्थायित्व कायम राख्न वित्तीय संस्थाहरूले उच्च मर्यादा अपनाउनुपर्नेमा जोड दिँदै मूल्यांकनकर्ताहरूले पनि पेशागत आचारसंहिता र आदर्शको पालना गर्न आग्रह गरे।
कार्यक्रममा एनभिएका अध्यक्ष इन्जिनियर संजय महतोले मूल्यांकन पेशामा देखिएका जटिलता समाधानका लागि संघ सक्रिय रूपमा लागिरहेको बताए। उनले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनिका इ.प्रा.नं. १२ को बुँदा नं. (७) अन्तर्गत धितो मूल्यांकनकर्तासम्बन्धी विशेष व्यवस्थामा रहेको कालोसूची तथा २/३ को व्यवस्था न्यायोचित नभएको भन्दै त्यसको खारेजीका लागि सम्बन्धित निकायको पुनः ध्यानाकर्षण गराइएको जानकारी दिए। साथै, यस विषयमा थप कार्यक्रम घोषणा गरिने प्रतिबद्धता पनि जनाए।
अध्यक्ष महतोको सभापतित्वमा सम्पन्न समारोहमा नेपाल इन्जिनियर काउन्सिलका सदस्य सचिव ध्रुव भट्टराई, नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बराल, एनभिएका निवर्तमान अध्यक्ष ऋषि कोइराला, संस्थापक अध्यक्ष वसन्त रमण रजौरिया, सेन्ट्रल फाइनान्सका कार्यकारी अधिकृत रजोजमान श्रेष्ठ, महासचिव इन्जिनियर अशोक सिलवाललगायत देशभरका सदस्यहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।





