काठमाडौं । द हिडन ट्रेजरले ‘मिस नेपाल २०२६’ प्रतियोगिताका लागि आवेदन खुला गरेको जनाएको छ। नेपालभर तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीहरूलाई प्रतियोगितामा सहभागी हुन आवेदन दिन आह्वान गरिएको छ। आवेदन दिने अन्तिम मिति जेठ २५, २०८३ (जुन ८, २०२६) सम्म तोकिएको छ।
आयोजकका अनुसार मिस नेपाल २०२६ को ग्रान्ड फिनाले श्रावण १६, २०८३ (अगस्ट १, २०२६) मा पुल्चोकस्थित द प्लाजामा आयोजना गरिनेछ। कार्यक्रम हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ।
द हिडन ट्रेजरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक युवतीहरूको न्यूनतम उचाइ ५ फिट ३ इन्च तथा उमेर १८ देखि २७ वर्षबीच हुनुपर्नेछ। आवेदकसँग नेपाली नागरिकता अनिवार्य गरिएको छ भने विदेशमा बसोबास गर्ने नेपालीहरूले एनआरएन कार्डका आधारमा आवेदन दिन सक्नेछन्। आवेदन दर्ता निःशुल्क रहने उल्लेख गरिएको छ।
यस वर्ष प्रतियोगिताबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल गरी तीन विजेता घोषणा गरिनेछन्। विजेताहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजकले जनाएको छ।
प्रेस विज्ञप्तिमा अघिल्ला संस्करणका नेपाली प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय सफलता हासिल गरेको पनि उल्लेख गरिएको छ। मिस नेपाल इन्टरनेशनल २०२५ की उष्मा खड्गीले जापानको टोकियोमा आयोजित प्रतियोगितामा सहभागिता जनाएको तथा मिस नेपाल वर्ल्ड २०२५ की सोनिका भट्टले भारतको हैदराबादमा सम्पन्न मिस वर्ल्ड प्रतियोगितामा सहभागिता जनाएको विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी मिस नेपाल कोस्मो २०२५ दीपाशा नेपालले भियतनाममा आयोजित मिस कोस्मो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।
द हिडन ट्रेजरले कजारिया रमेश टाइल्स लिमिटेडलाई मुख्य शीर्षक प्रायोजक तथा श्री नटराज ज्वेलर्सलाई सह–प्रायोजकका रूपमा स्वागत गरेको जनाएको छ। साथै नटराज ज्वेलर्स गत वर्षदेखि क्राउन पार्टनरका रूपमा पनि आबद्ध रहेको उल्लेख गरिएको छ।

मिस नेपालको खोज अभियानअन्तर्गत विराटनगर, इटहरी, बुटवल, पोखरा, नेपालगञ्ज र जनकपुरमा अडिसन सञ्चालन गरिनेछ। साथै काठमाडौंका १० वटा कलेजमा ‘मिस नेपाल एक्टिभेसन’ अभियान पनि सञ्चालन हुने जनाइएको छ। अन्तिम अडिसन जेठ २९, २०८३ (जुन १२, २०२६) मा काठमाडौंमा हुनेछ। छनोट भएका प्रतिस्पर्धीहरूले ग्रान्ड फिनालेअघि विशेष प्रशिक्षण तथा ग्रुमिङ प्राप्त गर्नेछन्।
प्रतियोगितासम्बन्धी थप जानकारी तथा आवेदनका लागि मिस नेपालको आधिकारिक वेबसाइट र मोबाइल एपमार्फत जानकारी लिन सकिने आयोजकले जनाएको छ।






