शिक्षित युवाहरु माझ विदेश जाने र उतै ‘सेटल’ हुने ‘ट्रेण्ड’ बढ्दो छ । विदेशमा पसिना बगाउन तयार हुने तर, स्वदेशमा सम्भावना नदेख्ने समस्या आम युवालाई गाँजेको छ । तर, त्यस्ता युवा पुस्ताको भिडमा एक अलग व्यक्तित्व हुन् ३१ वर्षीय सुदिप खड्का । उनी पनि कुनै समय डिपेण्डेन्ट भिसा’मा विदेश जान तयार भएका थिए । तर, ‘यु टर्न’ लिए र आज नेपालको जलविद्युत क्षेत्रमा एक आशावादी युवाको रुपमा उदाईरहेका छन् ।
दोलखामा रहेको २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाको प्रवर्दक कम्पनीको रुपमा सिंगटी हाइड्रो इनर्जी लिमिटेड रहेको छ । सो कम्पनीलाई आज खड्काले हाँकिरहेका छन्, त्यो पनि प्रबन्ध सञ्चालकको पदमा रहेर ।
अहिले उनको दैनिकी आयोजनाको काममै बित्छ । बिजुली उत्पादन कस्तो छ, आयोजनास्थलका कर्मचारीले कस्तो काम गरिरहेका छन्, आयोजनास्थलमा कुनै समस्या पो आएका छन् कि, बैंकलाई तिर्नुपर्ने सावाँ ब्याज नियमित भईरहेको छ कि छैन, कम्पनीले लगानी गरेका अरु आयोजना र कम्पनीका पछिल्ला अवस्था के छन् जस्ता विषयमा अपडेट लिनु र आवश्यक निर्णय गर्नु उनको दैनिकी हो ।
हाल खड्काको नेतृत्वमा झण्डै २ सय मेगावाटका जलविद्युत आयोजनाहरु छन् । सिंगटीले लगानी गरेको अर्बिट इनर्जीमा उनी महाप्रबन्धक छन् भने ह्याबीट्याट पावर कम्पनी पनि उनैले हेरिरहेका छन् । अन्नपूर्ण विद्युत विकास कम्पनीमा पनि उनी महाप्रबन्धक छन् । यसरी उनी सानै उमेरमा अर्बौ लगानी भएका आयोजनाका विभिन्न उच्च तहमा नेतृत्व गरिरहेका छन्, यद्यपी केही आयोजना निर्माण कै चरणमा छन् ।
कसरी जोडिए हाइड्रोपावरमा ?
ब्याचलर पढ्न काठमाडौँ छिरेका उनको लक्ष्य भने विदेश नै जाने थियो । डिपेण्डेन्ट भिसामा विदेश जानको लागि उनले सबै प्रक्रिया पूरा पनि गरिसकेका थिए । कन्सल्टेन्सी धाउने क्रममै एक दिन उनलाई आफ्नो एक आफन्तबाट जलविद्युत आयोजनाको कम्पनीको कार्यालयमा काम गर्ने प्रस्ताव आयो ।
नेपालमा सम्भावना नदेखेर विदेश जाने सोच बनाएर सम्पूर्ण तयारी अघि बढाइसकेका उनलाई २० हजार तलव सहितको जागिर खाएर नेपालमै बस्ने कि विदेश जाने भन्नेमा दोधार भयो । १२ वर्ष अगाडी मासिक २० हजार तलव पनि कम थिएन । यसपछि उनी आफैँले आफैँले जलविद्युत क्षेत्रबारे केही खोजी गरे, सन्दर्भ सामग्रीहरु अध्ययन गरे । अनि उनलाई लाग्यो ‘नेपालमै जलविद्युत क्षेत्रमा प्रचुर सम्भावना रहेछ, यतै लाग्दा भविष्यमा राम्रो होला ।’ अनि उनले विदेश जाने सपना चटक्कै त्यागे र सिंगटी हाइड्रोमा एडमिन एसिस्टेन्टको रुपमा नयाँ यात्रा सुरु गरे ।
झापाको सामान्य परिवारमा जन्मिएका खड्कालाई उनको बाबुआमाको जिम्मेवारीले सानै उमेरमा भारत पुर्यायो । उनका बुबा भारतमै मजदुरी गर्ने भएपछि उनी पनि बुबासँगै भारत गएर त्यहि पढ्न थालेका थिए । बुबाले भारतको जागिर छोडेपछि कक्षा तीनसम्म भारतमै पढेका सुदिप पनि झापा फर्किए । अधुरो पढाईलाई उनले झापाबाट नै निरन्तरता दिए । झापाबाट एसएलसी दिएर उच्च शिक्षाको लागि उनी राजधानी काठमाडौँ आए । राजधानी छिरेपछि उनले विदेश जाने सपना बुने । तर, जलविद्युत क्षेत्रबारे छोटो अध्ययन र बुझाई उनको मष्तिस्कमा यसरी गढ्यो की, तुरुन्तै विदेश जाने सपना त्यागिदिए ।
कर्मचारीको रुपमा सिंगटी हाइड्रोमा प्रवेश गरेका उनले स्वअध्ययन बढाए । क्रमशः जलविद्युत क्षेत्र बुझ्दै जाँदा आफूले पनि केही कम्पनीमा स–सानो लगानी गर्न थाले । केही वर्ष काम गरेपछि उनको लगन, मेहनत, परिश्रम र इच्छाशक्ति देखेर कम्पनीले उनलाई कम्पनीको सञ्चालक समितिमा पठाउने निर्णय गर्यो । उनी संस्थापक शेयरधनी समूहबाट कम्पनीको सञ्चालकमा निर्वाचित भए, सञ्चालक समितिको बैठकले उनलाई प्रबन्ध सञ्चालकको रुपमा चयन गर्यो । उनको लागि जीवनको सबैभन्दा खुशीको क्षणमध्ये यो पनि एउटा हो ।
हाल सिंगटीले विभिन्न आयोजनामा लगानी पनि गरेको छ । ति आयोजनालाई पनि खड्काले नजिकबाट हेरिरहेका छन् ।
उनीसँग आफ्नो करियरको लोभलाग्दो सफलताका कुरा मात्रै छैनन्, कतिपय तीता अनुभव पनि सँगालेका छन् । सरकारी निकायमा पुग्दा बिना चिनजान काम नै नहुने, भर्खरको युवा केटो पुग्दा वास्ता नै नगर्ने, विश्वास नै नगर्ने, समयमा काम नै नहुने लगायतका तिता अनुभव पनि बोकेका छन्, भोगेका छन् ।
तर, उनले अहिले त्यस्ता सबै विषय बुझिसके । त्यस्ता तमाम जटिलता आइपर्दा पनि उनले आफ्नो कर्मपथमा दिनरात मेहनत गर्न छोडेनन् । उनी बिहान ८ बजे नै कार्यालय पुगिसक्छन् र साँझ अबेरसम्म पनि कार्यालय मै हुन्छन् । यसमा उनलाई परिवारको पूर्ण साथ र सहयोग छ । अप्ठेरा कामहरु बिहानै सल्टाउने उनको शैली छ । अब उनलाई समस्या र चुनौतीसँग हिड्ने बानी बसिसक्यो । उनलाई कठिन काम, चुनौतीपूर्ण काम गर्न अब रमाइलो लाग्न थालिसक्यो । एउटा जलविद्युत आयोजना बनाउन त्यस क्षेत्रका स्थानीय बासिन्दादेखि देशकै कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीसम्म पुग्नुपर्ने अनुभवले उनलाई परिपक्व बनाइसक्यो ।
हरेक तह र तप्काका व्यक्तिहरुका कुरा सुनेर, उनीहरुका माग बुझेर आफ्ना कुरामा ‘कन्भिन्स’ गराउनु चानचुने विषय होइन । यस्तै चुनौतीसँग अघि बढ्न मन पराउने भएकोले अहिलेको जस्तो चुनौतीपूर्ण अवस्थामा पनि जलविद्युत क्षेत्रमा काम गर्न उनलाई प्रेरणा मिलिरहेको छ । खड्का हरेक समस्या समाधानको लागि सकभर आफैँ पुग्छन् । कतिपय अवस्थामा आफू पुग्दा आफुलाई गलत ब्रिफिङ भएको महशुस पनि उनले गरेका छन् । खासगरी, आयोजना स्थलका स्थानीय नागरिक र सम्बन्धित क्षेत्रका पालिका प्रमुखहरुसँग संवाद गर्न उनी पुग्ने गरेका छन् ।
खड्काका अनुसार जलविद्युत आयोजना निर्माणको लागि कम्पनी दर्तादेखि अप्ठेरा र असहज प्रावधान छन् । शेयर जारी गर्दाका अफ्ट्यारा पनि चानचुने छैनन् । अहिले पनि वन क्षेत्र र निकुन्ज क्षेत्रमा आयोजना निर्माणको लागि ठूलै चुनौती छन् । बैंकले नयाँ प्रवर्दकहरुलाई विश्वास नगरेर लगानी जुटाउन नसकिने समस्या पनि छन् । जग्गा खरिद र अधिग्रहणमा पनि धेरै समस्या निम्त्याउने खालका प्रावधान छन् । जलविद्युत आयोजना निर्माणका चरणमा देखिने विविध विषय समाधानको लागि एकद्वारा प्रणाली लागु गर्न सके धेरै नै सहज हुने उनको सुझाव पनि छ ।
त्यसो त उनले व्यवस्थापन विषय अध्ययन गरेका थिए । अहिले काम गरिरहेको जलविद्युत क्षेत्र उनले अध्ययन गरेको विषयसँग त्यतिविधि मेल खाँदैन । तर, उनी आफूले व्यवस्थापन विषय पढेकैले अहिले एक कुशल व्यवस्थापक बन्न सकेको बताउँछन् । एक कुशल इन्जिनियर वा प्रोजेक्ट म्यानेजर वा हाइड्रोलोजिस्टले मात्र आयोजना नबन्ने भएकोले ति सबैलाई व्यवस्थापन गर्नु नै नेतृत्वको एक असल गुण हुने उनको अनुभव छ । आज उनको नेतृत्वमा ७० जनाको जनशक्ति पनि यही जलविद्युत क्षेत्र मै काम गरिरहेको छ । आफ्ना हरेक तहका कर्मचारीसँग उनी आफैँ कुराकानी गर्छन्, आफैँ उनीहरुका समस्या बुझ्छन् र समाधानमा केन्द्रित हुन्छन् ।
कहिलेकहीँ आयोजना निर्माणको क्रममा स्थानीयले दिएका हैरानी, सरकारी कर्मचारीले दिएका दुःख, एउटा रुख काट्नको लागि वन मन्त्रालयले दिएका दुःख सम्झदा बेकार यो क्षेत्रमा आएछु जस्तो महशुस नभएको होइन । तर, उनले धैर्य गरेमा सबै समाधान हुन्छ, विकासको लागि कसैले दुःख गर्नै पर्छ भन्ने भाव अनुसार मेहनत गर्न छोडेनन्, जीवनले पढाएको यस्तै यस्तै पाठले नै आज उनले यो सफलता प्राप्त गरेका छन् ।





