काठमाडौं । नेपाली सेनाअन्तर्गत रनभिम गणका सैनिक खेलाडी सन्तराम माझिले नम्बर १८ वाहिनीपति ट्रफी प्रतियोगिता २०८३ मा एथ्लेटिक्सतर्फ चार स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडीको उपाधि हात पारेका छन्। बैशाख ७ देखि ९ गतेसम्म सम्पन्न प्रतियोगितामा उनले देखाएको दमदार प्रदर्शनले सैनिक खेलकुद वृत्तमा विशेष चर्चा बटुलेको हो।
मकवानपुरको बकैया गाउँपालिका–७ निवासी २६ वर्षीय माझि विगत ८ वर्षदेखि नेपाली सेनामा आबद्ध रहँदै आएका छन्। सैनिक सेवासँगै खेलकुदमा निरन्तर अनुशासन, मेहनत र समर्पण प्रस्तुत गर्दै आएका उनले यसपटक एथ्लेटिक्सका चार विधामा स्वर्ण पदक जितेर असाधारण क्षमता प्रदर्शन गरेका हुन्।
प्रतियोगिताअन्तर्गत १०० मिटर दौड उनले ११ दशमलव १९ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरे। यस्तै १००×४ रिले दौडमा ४८ दशमलव २० सेकेन्डको उत्कृष्ट समय निकाल्दै टोलीलाई स्वर्ण दिलाए। लङजम्पमा ६ दशमलव ५० मिटरको फड्को मार्दै प्रतिस्पर्धीलाई पछि पारेका माझिले जेभ्लिन थ्रोतर्फ ४८ दशमलव ५० मिटर दूरी तय गर्दै चौथो स्वर्ण पनि आफ्नो नाममा लेखाए।
चारवटै विधामा लगातार स्वर्ण जित्नु केवल शारीरिक सामर्थ्यको परिणाम नभई लामो समयको कठिन प्रशिक्षण, मानसिक दृढता र सैनिक अनुशासनको प्रतिफलका रूपमा हेरिएको छ। माझिको उपलब्धिले रनभिम गणको मात्र होइन, नेपाली सेनाको समग्र खेलकुद प्रतिष्ठालाई थप उचाइ दिएको सैनिक अधिकारीहरूको भनाइ छ।
उत्कृष्ट प्रदर्शनकै आधारमा माझिलाई प्रतियोगिताको एथ्लेटिक्सतर्फ ‘उत्कृष्ट खेलाडी’ घोषित गर्दै सहायक रथी श्री बिमल कुमार बस्नेतले सम्मान प्रदान गरेका थिए। उक्त सम्मानले सैनिक खेलकुदमा उत्कृष्टताको संस्कार थप मजबुत बनेको विश्लेषण गरिएको छ।
सैनिक सेवाभित्र कर्तव्यनिष्ठा र मैदानमा प्रतिस्पर्धात्मक जुझारुपनको सशक्त नमूना बनेका सन्तराम माझिको सफलता युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। अनुशासन, निरन्तर अभ्यास र अथक मेहनतले असम्भव देखिएका लक्ष्यसमेत हासिल गर्न सकिन्छ भन्ने सन्देश उनले आफ्नो प्रदर्शनमार्फत दिएका छन्।
आगामी राष्ट्रिय तथा अन्तर–सैनिक प्रतियोगितामा पनि माझिबाट अझ उच्चस्तरीय प्रदर्शनको अपेक्षा गरिएको छ।





