बकैयामा प्रथम पालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, १७ टिमको उत्साहजनक सहभागिता



हेटौंडा । मकवानपुरकाे बकैया गाउँपालिका स्तरीय प्रथम डबल ‘A’ साइड ब्याडमिन्टन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। चैत्र २० गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टिमको उत्साहजनक सहभागिताले गाउँस्तरमा खेलकुदप्रतिको बढ्दो आकर्षण र जागरणलाई स्पष्ट रूपमा देखाएको छ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित हात्तीखोला युवा क्लबको आयोजनामा, वडा कार्यालयको समन्वय र घमनटोल स्पोर्ट्स क्लबको व्यवस्थापनमा बकैया–७ घमनटोलमा प्रतियोगिता सम्पन्न गरिएको हो।

प्रतियोगितामा बकैया–११ का सहदेब लामिछाने र उज्ज्वल दाहालको जोडी उत्कृष्ट प्रदर्शन गर्दै विजेता बने। उनीहरूले नगद रु ७,००० सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। त्यस्तै, बकैया–९ का हिराकाजी जिम्बा र भक्त लामा भ्लोनको जोडी उपविजेता बन्दै नगद रु ३,५०० सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भए।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै वडा नं. ७ का वडा अध्यक्ष मानबहादुर सिङ्तान (रमेश), वडा नं. ८ का अध्यक्ष विष्णु नेगी तथा वडा नं. ११ का सामाजिक तथा राजनीतिक व्यक्तित्वहरू सोम तिमल्सिना, शिवराम ढकाल, बलराम घिमिरे र रामकृष्ण तिमल्सिनालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष खत्रीले खेलकुदले राष्ट्र, राष्ट्रियता र जनजीविकामा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्ने बताए। उनले यस्ता गतिविधिले पालिकाको पहिचान मजबुत बनाउने र आगामी दिनमा अझ व्यापक रूपमा खेलकुद कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार यस्ता प्रतियोगिताले केवल मनोरञ्जन मात्र होइन, अनुशासन, एकता र स्वस्थ जीवनशैलीको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्छन्। ग्रामीण क्षेत्रमा खेलकुदको विकासलाई निरन्तरता दिन सके यसले युवालाई सकारात्मक दिशामा अघि बढाउन सहयोग पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

प्रकाशित मिति : २०८२ चैत्र २१ गते शनिवार