नेशनल प्याब्सन खेलकुद सप्ताह: बास्केटबलमा हिमाली स्कुल च्याम्पियन



काठमाडौं । नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिद्वारा आयोजित विद्यालयस्तरीय खेलकुद सप्ताहअन्तर्गत बास्केटबल प्रतियोगितामा हिमाली स्कुल प्रथम भएको छ। पिपुल्स एकेडेमीले दोस्रो स्थान हासिल गर्दा साइन मोडल स्कुल तृतीय स्थानमा सीमित भएको छ।

बानेश्वरस्थित शंखमुलमा रहेको नेरीक एकेडेमीको खेलमैदानमा सम्पन्न प्रतियोगितामा विभिन्न निजी विद्यालयका टिमहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने विद्यालय, प्रायोजक तथा सरोकारवालाप्रति नेशनल प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष प्रेमकुमार भुजेलले धन्यवाद ज्ञापन गर्नुभयो।

प्रतियोगिताका प्रायोजकमा युनिक पब्लिकेशन, शुभकामना पब्लिकेशन, ट्रीटन कलेज र नेरीक एकेडेमी रहेका थिए। विजयी टिम तथा उत्कृष्ट खेलाडीहरूले ट्रफी, मेडल र नगद पुरस्कार प्राप्त गरेका छन्।

आयोजकका अनुसार विद्यालयस्तरका विद्यार्थीहरूमा खेलमार्फत अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउने उद्देश्यले आयोजना गरिएको खेलकुद सप्ताहले सकारात्मक सन्देश दिएको छ।

समापन समारोहलाई सम्बोधन गर्दै नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिका अध्यक्ष अमृतकुमार खड्काले खेलकुदलाई विद्यालय शिक्षाको अभिन्न अङ्गका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलाप विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अपरिहार्य रहेको उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।

त्यसैगरी नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवाष न्यौपानेले निजी विद्यालयहरू शैक्षिक नतिजामा मात्र सीमित नहुने र विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा समेत जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो। खेलकुद सप्ताहजस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अनुशासन, टीमवर्क र स्वस्थ प्रतिस्पर्धा सिकाउने उहाँको भनाइ थियो। नेशनल प्याब्सनले यस्ता सिर्जनात्मक तथा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै जाने उहाँले स्पष्ट पार्नुभयो।

प्रकाशित मिति : २०८२ पुष १ गते मङ्गलवार