काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले संगठन विस्तारलाई तीव्रता दिँदै सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेश समितिका इञ्चार्ज तथा संयोजकहरूको टुंगो लगाएको छ। पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको हालै सम्पन्न बैठकले प्रदेशस्तरमा संगठन परिचालन, सदस्यता विस्तार र आगामी राजनीतिक अभियानलाई केन्द्रित गर्दै जिम्मेवारी बाँडफाँट गरेको हो।
पार्टीले सार्वजनिक गरेको निर्णयअनुसार कोशी प्रदेशको इञ्चार्जमा राजेन्द्र राई, मधेश प्रदेशमा महिन्द्र राय यादव, बागमती प्रदेशमा डा. गंगालाल तुलाधर, गण्डकी प्रदेशमा श्रीनाथ बराल, लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा चन्द्रबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशमा डा. भीम रावल लाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी गैरभौगोलिक संरचनाअन्तर्गत उपत्यका विशेष प्रदेश इञ्चार्जमा हितमान शाक्य र सम्पर्क समन्वय प्रदेश इञ्चार्जमा यशोदा सुवेदी गुरुङलाई तोकिएको छ।
यस्तै प्रदेश संयोजकतर्फ कोशीमा हर्क नेम्वाङ, मधेशमा राजु खड्का, बागमतीमा सरल सहयात्री पौडेल, गण्डकीमा गायत्री गुरुङ, लुम्बिनीमा अब्दुल हुसेन खान, कर्णालीमा बिमला केसी तथा सुदूरपश्चिममा हरिराम चौधरी लाई जिम्मेवारी दिइएको छ।
यसैगरी उपत्यका विशेष प्रदेश संयोजकमा विष्णु लामिछाने तथा सम्पर्क समन्वय प्रदेश संयोजकमा तारानाथ दाहाल तोकिएका छन्।
पार्टी स्रोतका अनुसार नवगठित संगठनलाई प्रदेश तहसम्म छिटो संस्थागत बनाउने, कार्यकर्तालाई एउटै कमाण्डमा परिचालन गर्ने तथा वैचारिक–सांगठनिक एकीकरणलाई पूर्णता दिने उद्देश्यले यो जिम्मेवारी हेरफेर गरिएको हो। पछिल्लो समय वाम एकतापछि प्रदेशस्तरमा नेतृत्वको रस्साकस्सी भइरहेका बेला केन्द्रले औपचारिक रूपमा जिम्मेवारी बाँडफाँट गरेसँगै अब प्रदेश अधिवेशन, जनअभियान र सदस्यता व्यवस्थापनले गति लिने अपेक्षा गरिएको छ।
राजनीतिक वृत्तमा भने डा. भीम रावल, राजेन्द्र राई, हितमान शाक्य, श्रीनाथ बरालजस्ता प्रभावशाली अनुहारलाई प्रदेश इञ्चार्जमा उतारिनुलाई पार्टीले ‘अनुभवी नेतृत्वमार्फत संगठन कस्ने रणनीति’ का रूपमा लिएको विश्लेषण गरिएको छ।
प्रदेश इञ्चार्जहरू
* कोशी — राजेन्द्र राई
* मधेश — महिन्द्र राय यादव
* बागमती — डा. गंगालाल तुलाधर
* गण्डकी — श्रीनाथ बराल
* लुम्बिनी — चक्रपाणि खनाल
* कर्णाली — चन्द्रबहादुर शाही
* सुदूरपश्चिम — डा. भीम रावल
* उपत्यका विशेष — हितमान शाक्य
* सम्पर्क समन्वय — यशोदा सुवेदी गुरुङ
प्रदेश संयोजकहरू
* कोशी — हर्क नेम्वाङ
* मधेश — राजु खड्का
* बागमती — सरल सहयात्री पौडेल
* गण्डकी — गायत्री गुरुङ
* लुम्बिनी — अब्दुल हुसेन खान
* कर्णाली — बिमला केसी
* सुदूरपश्चिम — हरिराम चौधरी
* उपत्यका विशेष — विष्णु लामिछाने
* सम्पर्क समन्वय — तारानाथ दाहाल





