विशेष महाधिवेशनलाई मान्यता दिन निर्वाचन आयोगले लिएका तीन आधार



काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने क्रममा तीन प्रमुख आधार तय गरेको छ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सम्पन्न भएको थियो। उक्त महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि त्यसको विवरण अद्यावधिक गर्न बिहीबार आयोगमा निवेदन दर्ता गरिएको थियो।

त्यसको लगत्तै १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले विशेष महाधिवेशन विधानविपरीत आयोजना गरिएको दाबी गर्दै निर्वाचन आयोगमा आपत्ति दर्ता गराएको थियो।

शुक्रबार आयोगले दुवै पक्षबाट प्राप्त कागजात, पार्टीको विधान तथा प्रचलित ऐन–कानुनको विस्तृत अध्ययनपछि गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई औपचारिक मान्यता दिएको हो।

आयोगले निर्णय सार्वजनिक गर्दै तीन मुख्य आधार उल्लेख गरेको छ।
पहिलो, पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्न सक्ने र सो माग आएपछि महाधिवेशन आयोजना गर्नु अनिवार्य हुने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ।

दोस्रो, विधानतः महाधिवेशन प्रतिनिधि नै पार्टीका सर्वोच्च प्रतिनिधि हुने भएकाले उनीहरूको निर्णयलाई वैधानिक मान्नुपर्ने आयोगको ठहर छ।

तेस्रो, विशेष महाधिवेशन माग गरिएको विषयमा कुनै पनि औपचारिक विमति दर्ता नभएकाले उक्त महाधिवेशन विधानसम्मत रूपमा आयोजना भएको आयोगको निष्कर्ष छ।

यी तीन आधारका आधारमा निर्वाचन आयोगले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित कार्यसमितिलाई वैधानिक मान्यता दिएको जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ ३ गते शुक्रवार