नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा काठमाण्डौको भृकुटीमण्डपमा विशेष महाधिवेशन शुरू भएको छ । विशेष महाधिवेशनमा सहभागी बहुमत प्रतिनिधि हलबाटै नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा देखिएका छन्, जसले सभापति शेरबहादुर देउवामाथि राजनीतिक र नैतिक दबाब बढाएको छ ।
कुल ४,७४३ महाधिवेशन प्रतिनिधिमध्ये २,६६२ जनाले विशेष महाधिवेशनमा नाम दर्ता गराएका छन् । आयोजकका अनुसार सम्पर्कमा रहेका प्रतिनिधि समेत जोड्दा ६० प्रतिशतभन्दा बढीको सहभागिता हुने दाबी गरिएको छ । तर संस्थापन पक्षले महाधिवेशनको वैधानिकता र सहभागी संख्या दुवैप्रति प्रश्न उठाएको छ ।
प्रदेशगत रूपमा कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकीबाट उल्लेख्य सहभागिता देखिएको छ । संस्थापन पक्षको अनुपस्थितिबीच शुरू भएको यो विशेष महाधिवेशनलाई कांग्रेस पुनर्गठनको नयाँ अभ्यासका रूपमा हेरिएको छ । युवा पुस्ताको दबाबले पार्टीभित्र नेतृत्व र नीति परिवर्तनको बहसलाई तीव्र बनाएको छ ।
विशेष महाधिवेशनको बन्द सत्र आज बिहान १० बजेदेखि शुरू हुने भएको छ ।





