काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि सम्भावित कार्यतालिका सार्वजनिक गरेका छन्।
उनका अनुसार पुस २६ गते बन्दसत्र हुनेछ, जसमा वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्था, जेन–जी आन्दोलनले उठाएको सुशासनको मुद्दा तथा आगामी दशकमा कांग्रेसको दृष्टिकोणसम्बन्धी प्रतिवेदनहरू पेस गरी छलफल गरिनेछ।
त्यसै दिन अपराह्न २ देखि ४–५ बजेसम्म उम्मेदवारी दर्ता हुने र पुस २७ गते बिहान ७ देखि १२ बजेसम्म विद्युतीय मतदान गरिनेछ। ‘साँझसम्म नतिजा आइसक्छ,’ शर्माले बताए।
कार्यतालिकाअनुसार महाधिवेशन हुन नसक्ने अवस्था आए पनि पार्टी विभाजित नहुने उनको दाबी छ। ‘नेतृत्व चयन नभए पनि विशेष महाधिवेशनले पार्टी एकढिक्का राख्ने निर्णय गर्नेछ,’ उनले भने।
विशेष महाधिवेशनले कांग्रेस फुट्छ भन्ने आशंकालाई अस्वीकार गर्दै उनले नेपाली कांग्रेस कुनै पनि अवस्थामा विभाजित नहुने स्पष्ट पारे।
यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले १५औँ महाधिवेशन स्थगित भई विशेष महाधिवेशनतर्फ पार्टी अघि बढेको जानकारी दिएका थिए।





