कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षमा हलचल बढेको छ। पछिल्लो राजनीतिक र सांगठनिक अवस्थाबारे छलफल गर्न कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षका शीर्ष नेताहरूको बैठक बोलाएका छन्। बैठकमा विशेष महाधिवेशन रोक्न सकिने सम्भावित विकल्प र सहमतिको बाटोबारे छलफल हुने बताइएको छ।
सभापति शेरबहादुर देउवाले पनि आज बिहान आफ्ना निकट नेताहरूसँग छलफल गर्दै कुनै न कुनै विकल्पमार्फत विशेष महाधिवेशन रोक्नुपर्ने धारणा राखेका छन्। तर उनले ठोस प्रस्ताव भने अघि सारेका छैनन्। यसअघि देउवाकै पहलमा निर्वाचनअघि महाधिवेशन गर्ने तालिका तय भए पनि क्रियाशील सदस्यताको काम नसकिँदा नियमित महाधिवेशन प्रभावित भएको हो।
तोकिएको कार्यतालिकाअनुसार वडा अधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशनको प्रक्रिया स्थगित गरी पुस २७–२९ गते विशेष महाधिवेशन आह्वान गरेका हुन्। पार्टीको आगामी दिशा र महाधिवेशनको कार्यतालिकाबारे थप निर्णय आज बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट हुने अपेक्षा गरिएको छ।





