काठमाडौं । नेकपा एमालेको जारी ११औँ महाधिवेशनअन्तर्गत अध्यक्ष पदका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल समूहले आ–आफ्ना पदाधिकारीको नाम टुंग्याउने क्रम जारी राखेका छन्।
अध्यक्ष केपी शर्मा ओली समूहबाट पाँच जना उपाध्यक्षको नाम फाइनल गरिएको छ। उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली चयन भएका छन्।
महासचिवमा आकांक्षा राख्दै आएका प्रदीप ज्ञवालीलाई अन्ततः उपाध्यक्षमा समेट्ने सहमति भएको हो। महासचिव पदका लागि शंकर पोखरेलको नाम फाइनल गरिएको छ। अन्तिम समयसम्म दाबी नछाडेपछि ज्ञवालीलाई उपाध्यक्षमा र पोखरेललाई महासचिवमा अघि सारिएको बताइएको छ। ओलीको रोजाइ पनि पोखरेल नै रहेको जनाइएको छ।
त्यस्तै, उपमहासचिवतर्फ रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम टुंगो लागेको छ।
सचिव पदमा नौ जना निर्वाचित हुने व्यवस्था अनुसार ओली समूहबाट पद्मा अर्याल, छवि विश्वकर्मा, लेखराज भट्ट, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई उम्मेदवारका रूपमा फाइनल भएका छन्।





