काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्या भण्डारीले नेकपा (एमाले) को ११औँ महाधिवेशन सफल हुने विश्वास व्यक्त गरेकी छन् । उनले जनताको बहुदलीय जनवाद (जबज) का आधारभूत मान्यताअनुसार नेतृत्व चयन हुने अपेक्षा समेत राखेकी छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै भण्डारीले महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व र आ–आफ्ना क्षेत्रका जिम्मेवार नेता भएकाले पार्टीको आन्तरिक जीवन, मुलुकको परिवर्तित परिवेश र विश्व परिस्थितिबारे जानकार रहेको उल्लेख गरेकी छन् । यस्तो परिवेशमा सम्पन्न महाधिवेशनले जबजलाई आत्मसात् गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा र सहकार्यको वातावरण सुदृढ बनाउँदै सक्षम नेतृत्व निर्माण गर्ने उनको विश्वास छ ।
उनले देश अहिले तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको सन्दर्भमा प्राप्त उपलब्धिहरूको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएकी छन् । मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णय गर्न महाधिवेशन सफल होस् भन्ने कामना पनि उनले व्यक्त गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– ‘महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व र आ–आफ्ना क्षेत्रका जिम्मेवार नेता समेत हुनुभएकाले पार्टीको आन्तरिक जीवन, मुलुकको परिवर्तित परिवेश तथा विश्व परिस्थितिबारे अवगत नै हुनुहुन्छ । यस्तो परिवेशमा आयोजित पार्टीको सर्वोच्च निकायका रूपमा रहेको यो महाधिवेशन जबजका आधारभूत मान्यताहरूलाई आत्मसात् गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउँदै योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुनेछ भन्ने दृढ विश्वास लिएको छु ।’
उनले थप भनेकी छिन्– ‘मुलुक अहिले तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा, प्राप्त उपलब्धिहरूको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो । मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णयहरू गर्न यो महाधिवेशन सफल होस् ।’






