राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र नेतृत्व विवाद चुलिँदै जाँदा पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट्ने प्रयास असफल भएको छ।
जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणा लगायतले राजसंस्था पुनःस्थापना सम्बन्धी छलफल गर्न खोजे पनि पूर्वराजाले उनीहरूलाई भेट्ने समय दिएका छैनन्।
स्रोतका अनुसार १५ चैत र १५ जेठमा भएको प्रदर्शन तथा हिंसात्मक घटनाप्रति असन्तुष्ट भएका कारण पूर्वराजाले सुवेदी–राणा समूहलाई निर्मल निवास र नागार्जुन प्रवेशमै रोक लगाएका हुन्। तर, यसबारे आधिकारिक रूपमा कारण खुलाइएको छैन।
यसबीच, अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध नयाँ समूह बनाउने प्रयास सुवेदी, पाण्डे र राणासहितको टोलीले तीव्र बनाएको छ। सुवेदीलाई संयोजक बनाएको विवाद र अघिल्ला आन्दोलनका घटनाले राप्रपाभित्र असन्तुष्टि बढाएको देखिन्छ।
पूर्वराजाले सुवेदीको संयोजक चयनमा आफूको कुनै भूमिका नरहेको प्रस्ट्याइसकेका छन्। सुवेदी समूहले २९ असारमा निर्वाचन आयोगमा उजुरी दर्ता गरेको छ भने अध्यक्ष लिङ्देनका पछिल्ला कदमको खुलेरै विरोध गरिरहेको छ।





