काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार अहिले नागरिकमा देखिएको असन्तुष्टि घटाउने काममा केन्द्रित हुनुपर्ने बताएका छन् ।
पाँचथरको तुम्बेवा महोत्सव २०८१ को समापन कार्यक्रमलाई सम्बोधन क्रममा उनले अहिले नागरिकहरूमा देखिएको आक्रोशमा केही मान्छेहरूले घिउ थप्ने काम गरिरहेकोले त्यसलाई मत्थर पार्नुपर्ने बताएका हुन् ।
थापाले भने, ‘स्थानीय होस् वा संघीय सरकार जसले भएपनि चाहिने काम मात्रै गरौँ नचाहिने काम नगरौँ । अहिले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख भइसकेको व्यक्तिहरूले जीवनभरी सेवा सुविधा पाउनेगरी कानुन बनाउन सरकारले लाग्यो रे भन्ने हल्ला आएको छ । यस्तो कुराले स्वभाविक रूपमा नागरिकहरूलाई रिस त उठ्ने नै भयो । तर, कतिपय कुरालाई हामीले ठिक समयमा ठिक ढङ्गले बुझाउन पनि सक्नुपर्छ ।’
उनले आफू स्वास्थ्य मन्त्री हुँदा ठुला नेताहरूको उपचार गर्न विदेश जाने र त्यसको खर्च सरकारले व्यहोर्ने कुरा गलत भएको भन्दै सांसदबाट कानुन बनाएर रोकेको बताए ।
उनले भने, ‘अहिले सरकारले पूर्वविशिष्टलाई राज्यले दिनैपर्ने न्यूनतम सुरक्षा दिन्छु त्यो बाहेक आज राज्यको ढुकुटीमा धेरै ठूलो दबाब परेको छ । त्यसैले सरकारले चाहेको बेलामा निर्णय गरेर पैसा दिने अभ्यास कानुन बनाएर रोक्छु भन्नेपर्छ । पैसा बाँड्ने होइन रोक्ने कानुन बनाउँछु भन्नुपर्छ सरकारले । माथिदेखि तलसम्म सबै सरकारले त्यही गर्नुपर्छ ।’





