चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादास्पद उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री गजेन्द्र हमालबारे बाहिर भ्रम फैलाइएको बताएका छन् ।
शनिबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले हमाल नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेको तर बाहिर अर्कै भ्रम फैलाइएको बताएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रीमा भागबण्डा खोजेको चर्चा चलिरहेकै बेला मन्त्री बनेका हमाल नाताले जबराका जेठान हुन् । उनी सांसदसमेत नरहेको अवस्थामा ६ महिनाका लागि मन्त्री बनाइएका छन् । हमाल प्रधानन्यायाधीशकै कोटाबाट मन्त्री बनेको आरोप लागिरहेको छ ।
तर सत्तारुढ गठबन्धनका प्रमुख सूत्रधार समेत रहेका अध्यक्ष प्रचण्डले भने सरकारको बचाउ गर्दै हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको जिकिर गरेका हुन् । उनले हमाल कांग्रेसका नेता भएको र कांग्रेसकै कोटाबाट मन्त्री बताए । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको हो भन्ने भ्रममा सत्यता नरहेको उनको भनाइ थियो ।





