शक्ति बाँडफाँडमा कुरा नमिल्दा रास्वपा-बालेन समूहबीचको निर्णायक वार्ता अनिश्चित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) समूहबीच आज हुने भनिएको निर्णायक वार्ता शक्ति बाँडफाँडको विषयमा सहमति नजुट्दा अनिश्चित बनेको छ। गएरातिसम्म भएको छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत शक्ति बाँडफाँडको प्रस्ताव राखेपछि वार्ता अघि बढ्न नसकेको हो।

हिजो सहमति नजुटेपछि बालेनले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग परामर्श गरी पुनः वार्तामा बस्ने बताउनुभएको थियो। तर आजसम्म वार्ता अघि बढ्न सकेको छैन।

बालेन र रास्वपा सभापति रवि लामिछानेलाई एक ठाउँमा ल्याउने प्रयासस्वरूप रास्वपाबाट शिशिर खनाल र असिम शाह तथा बालेन पक्षबाट कुमार बेन र भूपदेव शाहलाई मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको थियो। तर शक्ति बाँडफाँडमै कुरा अड्किँदा वार्ता निष्कर्षविहीन बनेको छ।

यसैबीच, ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पार्टी एकता नागरिकको चाहनाअनुसार हुनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले पार्टीगत संरचना नभए पनि जनताको विश्वास आफूहरूसँग रहेको उल्लेख गरे। एउटै पार्टी सम्भव नभए सरकारमा सहकार्य गर्न सकिने उनको भनाइ छ।

प्रकाशित मिति : २०८२ पुष १२ गते शनिवार