काठमाडौँ । सरुवा पीडित शिक्षकहरूले २०८१ मा जारी गरिएको सरुवा निर्देशिका खारेजीको माग राख्दै आन्दोलनको घोषणा गरेका छन्। पीडित शिक्षक केन्द्रीय संघर्ष समितिले निर्देशिका तुरुन्तै खारेज वा परिमार्जन नगरे आन्दोलन तीव्र बनाउने चेतावनी दिएको हो।
समितिका अध्यक्ष नेत्रलाल भट्टराईका अनुसार मंसिर दोश्रो हप्तादेखि काठमाडौं केन्द्रित आमरण अनशनसहितको सडक आन्दोलन थालिने छ। “निर्देशिका खारेज वा परिमार्जन नभए अन्तिम लडाइँमा जान्छौँ,” उनले भने।
उक्त निर्देशिका तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठको कार्यकालमा जारी गरिएको थियो। जारी भएपछि शिक्षकहरूले निरन्तर विरोध गर्दै आएका छन्।
पीडित शिक्षकहरूले निर्देशिका खारेजी माग गर्दै अदालतको ढोका समेत पुगेका छन्। वर्तमान शिक्षामन्त्री महावीर पुनले निर्देशिका संशोधन गर्ने तयारी गरे पनि मुद्दा अदालतमा विचाराधीन रहेकाले फिर्ता लिन आग्रह गरेका थिए। तर पीडित शिक्षकहरू मुद्दा फिर्ता नलिने अडानमा छन्।
“निर्देशिका खारेज वा संशोधन गर्न मुद्दाले कुनै बाधा पुर्याउँदैन। हाम्रो माग सम्बोधनको ग्यारेन्टी नहुँदासम्म मुद्दा फिर्ता लिँदैनौँ,” भट्टराईले स्पष्ट पारे।
शिक्षकहरूले ज्येष्ठता आधारमा सरुवा गर्दा नयाँ शिक्षक मारमा परिरहेको गुनासो गर्दै आएका छन्। संघर्ष समितिको दाबी अनुसार निर्देशिका लागू भएपछि ४० हजारभन्दा बढी शिक्षक सरुवा हुन नसकेका छन्।





