काठमाडौं । धादिङको रमणीय रुविभ्याली क्षेत्रको पर्यटन प्रवर्द्धनका उद्देश्यले तयार गरिएको म्युजिक भिडियो ‘घुमौं रुविभ्याली’ सोमबार सार्वजनिक गरिएको छ।
गीतकार तथा पर्यटन व्यवसायी राम प्रसाद सापकोटाको शब्द र अवधारणामा बनेको भिडियो साहित्यकार डा.नवराज लम्सालले विमोचन गरे। कार्यक्रममा धादिङका पर्यटन व्यवसायी, कलाकार र स्थानीय समाजसेवीहरूको उल्लेख्य सहभागिता थियो।
भिडियोमा पाङसाङ पास, गणेश हिमाल श्रृंखला, बोराङ क्षेत्रका दृश्य, प्राकृतिक सौन्दर्य, धार्मिक स्थल र परम्परागत संस्कृतिलाई समेटिएको छ। कलाकार सगुन थापा र सुधिर श्रेष्ठको अभिनय रहेको गीतले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
डा.लम्सालले रुविभ्यालीजस्ता सुन्दर स्थलहरूलाई गीत–संगीत र कलामार्फत चिनाउने प्रयास प्रशंसनीय भएको बताए। गीतकार सापकोटाले भने, “रुविभ्यालीको प्राकृतिक र सांस्कृतिक सम्पदालाई विश्वसामु परिचित गराउने हाम्रो सानो पहल हो। यसले जिल्लाको पर्यटन क्षेत्रमा नयाँ उर्जा थप्नेछ,” उनले बताए।





