चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ। देशभरबाट झन्डै ५०० प्रतिनिधि सहभागी उक्त बैठकले ११ बुँदे निष्कर्ष सार्वजनिक गरेको छ।
बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, जनजीविका, आगामी प्रतिनिधिसभा चुनाव, पार्टीबाट उम्मेदवार चयनका मापदण्ड तथा पार्टीको आन्तरिक रुपान्तरणबारे विस्तृत छलफल गरिएको प्रवक्ता मनिष झाले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा. स्वर्णिम वाग्लेले चुनावी वाचापत्रको अवधारणा, महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन, सह–महामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रूपरेखा तथा सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षर अभियानसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।
बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव निष्पक्ष, स्वच्छ र भयरहित बनाउन सरकारलाई गम्भीर हुन आग्रह गरेको छ। साथै, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर मिलाउन आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
यससँगै रास्वपाले उम्मेदवार हुनका लागि केही नयाँ मापदण्ड पनि सार्वजनिक गरेको छ। मापदण्डअनुसार २०७९ सालको प्रतिनिधिसभा चुनावमा समानुपातिक तर्फबाट सांसद बनेका सदस्यले आगामी फागुन २१ गते हुने चुनावमा समानुपातिक तर्फबाट पुनः उम्मेदवारी दिन नपाउने व्यवस्था गरिएको छ।





