महोत्तरी । मनरासिसवा नगरपालिकाका नगर प्रमुख मोहन पाण्डेयले विद्यालयमा हाजिरी गरेर आन्दोलनमा सहभागी हुने शिक्षकको तलब काट्ने चेतावनी दिएका छन्।
शुक्रबार नेपाल शिक्षक महासङ्घमा आवद्ध शिक्षकहरूले विद्यालयमा हाजिरी गरी नगरपालिकाको कार्यालयमा धर्ना बसेपछि नगर प्रमुख पाण्डेयले यस्तो चेतावनी दिएका हुन्।
उनले भने, “विद्यालयमा आएर हाजिरी गर्ने अनि आन्दोलनमा जाँदा विद्यार्थीको भविष्यसँग खेलबाड भइरहेको छ। हाजिरी गरेको दिन शिक्षकले विद्यालयमै पढाउनुपर्छ। हाजिरी गरेर आन्दोलनमा गइरहने शिक्षकको तलब कट्टा गर्ने तयारी गरेका छौं। दिनहुँ आन्दोलनमा जाने शिक्षकले बिदा लिएर जान सक्छ।”
नगर प्रमुख पाण्डेयका अनुसार अधिकारका लागि आन्दोलन गर्न पाइने भए पनि त्यसकै नाममा विद्यार्थीलाई पढ्ने अधिकारबाट बञ्चित पार्नु र उनीहरूको भविष्यसँग खेलबाड गर्नु उचित हुँदैन।
प्रकाशित मिति : २०८२ भाद्र १४ गते शनिवार





